नेपाली सैनिक प्रतिष्ठानमा दिक्षान्त समारोह सम्पन्‍न

१. नेपाली सैनिक प्रतिष्ठानमा संचालन भईरहेको सि.सं.५९ अधिकृत क्याडेट तालिममा तालिमरत शिक्षार्थीहरुको स्नातक तहको "दिक्षान्त समारोह" मिति २०७८/०१/०९ गते प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । 

२.    त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.श्री धर्मकान्त बास्कोटा, प्राध्यापकहरु, रथीवृन्द र अधिकृतहरुको समेत उपस्थितीमा सम्पन्‍न भएको उक्त दिक्षान्त समारोहमा पुरुष अधिकृत क्याडेट १२९, महिला अधिकृत क्याडेट २४ र विदेशी अधिकृत क्याडेट ४ जना (केन्या, जाम्बिया, माल्दिभ्स र श्रीलंका) गरि जम्मा १५३ जना शिक्षार्थीहरु दिक्षित भएका छन् ।  

३. समारोहमा दिक्षित स्वदेशी तथा विदेशी शिक्षार्थीहरु तथा तीनका अभिभावकहरु सबैलाई बधाई दिनुहुँदै प्रधान सेनापति महारथी थापाले निकट भविष्यमा नै आयुक्त पद प्राप्त गर्ने शिक्षार्थीहरुलाई प्रतिष्ठानमा सिकेका ज्ञानलाई व्यवहारमा सफलतापूर्वक उतारेर आ-आफ्नो सेनाका भविष्यको कुशल तथा प्रेरणादायी नेतृत्व बन्न सफलता मिलोस भन्‍ने शुभकामना व्यक्त गर्नु भएको थियो । साथै, उक्त समारोहमा शैक्षिक अध्यापन तर्फ प्रथम, द्धितिय, तृतिय हुने र एकेडेमीको विभिन्न विधामा उत्कृष्ट अंक हासिल गर्ने अधिकृत क्याडेटरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।