'तेस्रो सैनिक आचार संहिता सप्ताह - २०७८' सम्पन्‍न

१. मिति २०७८ वैशाख ०२ गतेदेखि संचालन भएको 'तेस्रो सैनिक आचार संहिता सप्ताह - २०७८' को आज मिति २०७८ वैशाख ०९ गते प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले एक विशेष समारोहका बीच जङ्गी अड्डास्थित श्री त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा समापन गर्नुभएको छ ।

२. श्री पतञ्‍जली योग समिति नेपालका प्रमुख योगसाधक श्री लवदेव मिश्रज्यूबाट सदाचार, मानवीय मुल्य मान्यता सम्बन्धमा मानवीय आचरण, मूल्य मान्यता सम्बन्धमा अभिप्रेरणात्मक प्रवचनबाट शुरुवात भएको उक्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधान सेनापति महारथी थापाले हाम्रो सोंचाई र व्यक्तिगत मुल्य मान्यतामा जबसम्म परिवर्तन आउंदैन, तबसम्म संगठनको कार्यशैलीमा परिवर्तनको आकांक्षा राख्‍नुको कुनै अर्थ नभएको बताउदै नीति नियमले व्यक्तिलाई सहि बाटो देखाईदिने सम्म मात्र हो, तर उक्त बाटोमा कसरी हिंड्ने भन्ने व्यक्ति स्वयंमा नै निर्भर रहने बताउनु भएको थियो । साथै, उहाँले सैनिक आचरण उल्लंघनका घटनाहरुलाई केबल व्यक्तिको कमजोरीका रुपमा मात्र बुझ्नु भन्दा यसले कालान्तरमा राष्ट्रिय सुरक्षालाई कमजोर पारी व्यक्तिगत, समुहगत वा विभिन्न छद्‍मभेषी तत्त्वहरुको स्वार्थ पूर्ति गर्नका लागि अन्तत: सङ्गठनलाई नै ध्वस्त पार्न सक्‍ने हुँदा सचेत रहन निर्देशन दिनु भएको थियो ।

३. "परिवर्तनको शुरुवात् आफैंबाट गरौं" भन्ने भावना सहित लिईएको "सकारात्मक परिवर्तन" को पहलकदमीको औचित्य सावित हुँदा यसबाट सम्पूर्ण सैनिक व्यक्ति र मूल रुपमा सैनिक संगठन लाभान्वित हुनेमा जोड दिंदै प्रधान सेनापति महारथी थापाले यस किसिमको कार्यक्रमबाट कर्तव्य पालनाका सिलसिलामा गर्न हुने र नहुने कामहरुका बारेमा व्यावहारिक प्रष्टता ल्याउनुका अलवा शंकाको सुबिधाका भरमा व्यक्तिगत फाईदा लिने प्रबृत्तिलाई समेत निरुत्साहित गर्ने बताउनु भएको थियो । साथै, उहाँले सैनिक आचारसंहिता संग्रह प्रकाशन भई कार्यान्वयनमा आईसकेको सन्दर्भमा यसलाई केबल दण्डित् गर्ने व्यवस्थाका रुपमा नबुझेर संगठनमा सकारात्मक कार्य संस्कृतिको निर्माण गरि सराहनीय कार्यलाई प्रोत्साहन र पुरस्कृत् गर्ने अवसरको विकास गर्ने माध्यमका रुपमा बुझिनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो । 

४. नेपाली सेनाका सबै युनिटहरुमा Live Multicast समेत गरिएको सप्ताहव्यापी उक्त कार्यक्रम बैशाख ०२ गते बलाधिकृत रथी प्रभुराम शर्माको शुभारम्भ मन्तव्य र मानवीय आचरण तथा मुल्य मान्यता सम्बन्धमा अभिप्रेरणात्मक प्रवचनसँगै विधिवत रुपले शुरुवात भएको थियो भने उक्त कार्यक्रम अवधिभरमा नेपाली सेनाका सकलदर्जाले विभिन्न परिस्थितीमा आफ्नो भूमिका र जिम्मेवारीहरुलाई संयमताका साथ सुझबुझपूर्ण तवरले सम्पादन गर्न सहयोगी विषयवस्तुहरु समावेश गरिएको थियो । यस अन्तर्गत नेपाली सेनाको मुल्य मान्यताहरु, नेपाली सेनाको परम्परा तथा शिष्टाचार, मिडिया तथा सोसल मिडिया प्रयोग गर्ने सम्बन्धि, आर्थिक कारोवार तथा बजेट सम्बन्धि, राजनैतिक र अन्य व्यक्तिहरुसँग भेटघाट गर्ने तथा अभिव्यक्ति दिने सम्बन्धि, विदेशीहरुसँग सम्पर्क, भेटघाट र अन्तरक्रिया सम्बन्धि, शिक्षक तथा शिक्षार्थीहरुले पालना गर्नु पर्ने, भर्ना छनौट सम्बन्धि, लैङ्गिक आचरण सम्बन्धि तथा उपहार सम्बन्धि आचार संहिताहरु सम्बन्धमा सम्बन्धित विषयविज्ञहरुबाट प्रस्तुतीकरण भएको थियो ।

५. कोभिड-१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी भौतिक दुरी कायम राखी सञ्चालन गरिएको उक्त कार्यक्रममा रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिती रहेको थियो । यस प्रकारका कार्यक्रमहरुको संचालनबाट नेपाली सेनामा कार्यरत सकलदर्जा बीच विश्वासको वातावरण सिर्जना भई थप अनुशासित, नैतिकवान, उर्जावान र व्यवसायिक संगठनको रुपमा स्थापित हुने विश्वास नेपाली सेनाले लिएको छ ।