आधुनिकीकरण गरी निर्माण हुने श्री वीरेन्द्र अस्पताल भवनको शिलान्यास

१.    नेपाल सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा छाउनी परिसरमा आधुनिकीकरण गरी निर्माण हुने ७५० शैया क्षमताको श्री वीरेन्द्र अस्पताल भवनको मिति २०७८/०१/११ गतेको ०८०५ बजे सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीज्यूले विधिवत शिलान्यास गर्नु भएको छ ।

२.    उक्त अवसरमा उहाँले शिलालेखको अनावरण तथा निर्माण हुने अस्पतालको गुरुयोजनाको अवलोकन पश्‍चात् गर्नु भएको सम्बोधनको क्रममा गौरवपूर्ण इतिहासको सम्मान र आगामी दिनहरुको लागि नव निर्माण गर्दै समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको बताउनु भएको थियो । साथै, उहाँले यस महत्वपूर्ण कार्यमा नेपाली सेनालाई सफलताको शुभकामना सहित नेपाली सेनाका प्रधान सेनापति लगायत सबैलाई हार्दिक धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।

३.    ५०० जना घाइते तथा बिरामीको उपचार गर्ने क्षमता रहेको उक्त अस्पताल पूर्ण रुपमा संचालनमा आए पश्‍चात् नेपालकै नमुना अस्पताल (Medical Center of Excellence) को रुपमा कार्य संचालन गरी रिसर्च लगायत अन्य ३० प्रकारका मेडिकल सेवाहरु प्रदान गर्ने र विपदको अवस्थामा ६००० जना सम्मलाई उपचार गर्ने क्षमता रहने छ । २०७ रोपनी जग्गामा निर्माण हुने उक्त अस्पतालमा अबको ७ वर्षमा सेवा शुरु हुने र १० वर्षभित्र पूर्ण रुपमा संचालन हुने योजना रहेको छ ।

४.    कोभिड-१९ स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै आयोजना भएको उक्त कार्यक्रममा नेपाल सरकारका माननीय मन्त्रीज्यूहरु, विशिष्ट पदाधिकारीज्यूहरु, सचिवज्यूहरु, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।