प्रधान सेनापतिद्वारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

१. आज मिति २०७८ वैशाख २६ गते प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा भक्तपुर जिल्लाको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित सि.सं. ५९ अधिकृत क्याडेट तालिम तथा सि.सं.२७ प्राविधिक अधिकृत आधार तालिम सम्पन्‍न भएको छ । उक्त अवसरमा सि.सं. २७ प्राविधिक अधिकृत आधार तालिमका १० जना प्राविधिक अधिकृतहरु समेत सम्मिलित भइ सहभागि क्याडेटहरुले उच्च स्तरको आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए ।    

२. उक्त समारोहमा प्रधान सेनापति महारथी थापाले सि.सं.५९ अधिकृत क्याडेट तालिमका २३ महिला, १२८ पुरुष तथा ४ विदेशी अधिकृत क्याडेट गरी जम्मा १५५ अधिकृत क्याडेटहरु तथा मित्रराष्ट्र श्रीलंकाको कोलम्बो स्थित General Sir John Kotelawala University (Military Academy) बाट Degree Program समाप्त गरी स्वदेश फिर्ता हुनु भएका सि.सं. ५६ अधिकृत क्याडेट तालिमका २ जना सहित जम्मा १५७ जना अधिकृत क्याडेटहरुलाई उप सेनानी दर्जाको आयुक्त पद प्रदान गर्नुभएको थियो । सोही अवसरमा प्रधान सेनापति महारथी थापाले सि.सं.५९ अधिकृत क्याडेट तालिममा सर्वप्रथम हुने अधिकृत क्याडेट विजय थापालाई “Best Officer Cadet Award”, अन्तर्राष्ट्रिय अधिकृत क्याडेट तथा महिलातर्फ समेत प्रथम हुने मित्रराष्ट्र केन्याकी Beryl Akinyi Opila लाई "The Best International Officer Cadet" तथा "Cane of Honour" र सि.सं.२७ प्राविधिक अधिकृत आधार तालिममा प्रथम हुने प्राविधिक उप सेनानी अर्जुन मगरलाई “Best Technical Officer” को उपाधी प्रदान गर्नु भएको थियो ।  

३. कोभिड-१९ को संभावित संक्रमणलाई मध्यनजर गरी आवश्यक स्वास्थ्य सम्बन्धि सुरक्षात्मक उपाय अपनाई आयोजना गरिएको उक्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधान सेनापति महारथी थापाले नवआयुक्त अधिकृतहरुलाई लामो अवधिको कठीन अधिकृत आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी आयुक्त पद प्राप्त गर्न सफल भएकोमा बधाई तथा आगामि सैनिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । सोही क्रममा उहाँले सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्रि के.पी. शर्मा ओलीले पठाउनु भएको सन्देश समेत वाचन गरेर सुनाउनु भएको थियो । उक्त सन्देशमा प्रधानमन्त्री तथा रक्षा मन्त्रिले नवआयुक्त अधिकृतहरुलाई तालिमको सफलतामा हार्दिक बधाई दिनुहुँदै तालिमको दौरान क्याडेटहरुले देखाएको सहनशीलता, कठीन परिश्रम र दृढताको प्रशंसा गर्दै राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गर्दै आईरहेको चर्चा गर्दै संसारभर "वीर गोर्खाली" को देश भन्ने पहिचान बनाएको नेपाली सेनाले अब उक्त पहिचानलाई आधुनिक हातहतियारले सुसज्जित, प्रविधिमैत्री, तालिम एवम् स्रोतसाधन सम्पन्न, उच्च हौसलायुक्त, उत्कृष्ट सेनाको रुपमा आफूलाई स्थापित गर्नुपर्ने बताउनु भएको थियो ।

४. आज मित्रराष्ट्र केन्या, माल्दिभ्स, श्रीलंका र जाम्वियाका गरी ४ जना विदेशी अधिकृतहरुले आयुक्त पद प्राप्त गर्नुभएको छ भने विगत आठ बर्षमा उक्त प्रतिष्ठानबाट विभिन्न मित्रराष्ट्रहरुका १९ जना विदेशी अधिकृतहरुले तालिम प्राप्त गरिसक्नु भएको छ ।