प्रधानसेनापतिद्वारा शान्ति स्थापनार्थ हाइटी खट्टिई जाने फौजको निरीक्षण

१. आज मिति २०६८ आश्विन १५ गते प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ United Nations Stabilization Mission in Haiti (MINUSTAH) हाईटीमा तैनाथ हुन जाने श्री नारायण दल गण (शान्ति सेना) १४ औं डफ्फा तथा श्री नयाँ गोरख गण (शान्ति सेना) १० औं डफ्फाद्वारा संयुक्त रुपमा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरिएको Pre-Deployment तालिमको निरीक्षण गर्नुभयो । २. उक्त अवसरमा प्रधानसेनापति महारथी श्री गुरुङ्गले नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवद्वारा शान्ति स्थापनार्थ हाइटी खट्टिई जाने शान्ति सैनिकहरुलाई दिइएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । उक्त सन्देशमा विगत वर्षहरुमा जस्तै यस पटक पनि पेशागत दक्षताका आधारमा मानव अधिकारको उच्च सम्मान, प्रजातान्त्रिक मान्यता र असल आचरणका साथै मानवीय सहयोगको भावना राखी नेपालको शान्तिप्रतिको प्रतिबद्धता संसारमा फैलाउन सफल हुनेमा विश्वास लिनु भएको कुरा उल्लेख छ । ३. सोही अवसरमा प्रधानसेनापति महारथी श्री गुरुङ्गले शान्ति सैनिकहरुलाई सम्बोधन गर्नुहुंदै संयुक्त राष्ट्र संघको आव्हानमा नेपाली सेनाले लामो समयदेखि शान्ति स्थापना कार्यमा भाग लिएको तथ्य जानकारी गराउँदै निःस्वार्थ भावनाले अनुशासित भई ज्यानको समेत पर्वाह नगरी आ–आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्दै नेपाल र नेपाली सेनाको छविलाई अन्तर्राष्ट्रिय जगतमा उजागर गर्न निर्देशन दिनुभयो । साथै उहाँले उक्त मिशनमा खट्टिई जाने शान्ति सैनिकहरुलाई २०६८ सालको विजयादशमी तथा दिपावलीको समेत शुभकामना दिनुभयो । ४. उक्त कार्यक्रममा रक्षासचिव श्री नविन घिमिरे, सैनिक विनय महानिर्देशक उपरथी श्री राम बहादुर गुरुङ्गलगायत नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।