सगरमाथाको Camp –IV मा फेला परेका दुई वटा शव काठमाडौं ल्याईयो

१.    सफा हिमाल अभियान २०२१अन्तर्गत् सगरमाथा हिमालको फोहोर संकलन गर्ने क्रममा चौथो शिविर (Camp–IV, 8000 Mtr) आसपासमा फेला परेका दुई वटा शव कानुनी प्रक्रिया पश्‍चात आज मिति २०७८ ज्येष्ठ १० गते हेलिकप्टर मार्फत काठमाडौं ल्याईएको छ ।

२.    सन् २०१९ मा सगरमाथाको आरोहण पश्‍चात फिर्ता हुने क्रममा मृत्यु भएका अमेरिकाको कोलोराडो निवासी ६२ वर्षिय Christopher Kulish को शव र पहिचान नखुलेको एक गरी जम्मा दुई वटा शवहरु क्रमश: मिति २०७८ वैशाख २९ गते र ऐ. ३१ गते सगरमाथाको चौथो शिविरमा ढुङ्गाको चेपमा फेला परेको थियो । सफा हिमाल अभियान २०२१को Dead Body Recovery Team ले उक्त शवहरु क्रमश: मिति २०७८ वैशाख ३० गते र मिति २०७८ ज्येष्ठ ०९ गते दोस्रो शिविरमा ल्याउन सफल भएकोमा दोस्रो शिविरबाट हेलिकप्टरद्वारा आज मिति २०७८ ज्येष्ठ १० गतेको १२१५ बजे आधार शिविरसम्म ल्याई सफा हिमाल अभियानमा खटिएका डाक्टर अधिकृतको प्रारम्भिक मेडिकल प्रतिवेदन र लुक्ला स्थित जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी मुचुल्का सहित शव व्यवस्थापनको लागि आजै त्रि.वि. शिक्षण अस्पताल, महाराजगंजमा बुझाईएको छ ।

३.    साथै, सफा हिमाल अभियान २०२१अन्तर्गत् संकलित फोहोरहरु मिति २०७८ ज्येष्ठ २२ गते विश्‍व वातावरण दिवसको अवसर पारेर एकमुस्ठ रुपमा Recycling गर्ने प्रयोजनको लागि हस्तान्तरण गर्ने योजना रहेकोमा हालको महामारीको कारण चरणबद्ध रुपमा फोहोर हस्तान्तरण गर्न मिलाइएको छ । यसै क्रममा आज मिति २०७८ ज्येष्ठ १० गते जङ्गी अड्डामा आयोजित कार्यक्रमकाबीच राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले सगरमाथा तथा आमादब्लम हिमालबाट संकलन गरिएको फोहोर Avni Venture प्रा.लि. लाई हस्तान्तरण गर्नु भएको छ । आमादब्लम हिमालबाट संकलन गरीएको ३,४४२ के.जी. फोहोर मध्ये Bio-degradable (सड्ने/कुहिने) ६० के.जी. फोहोर मिति २०७८ ज्येष्ठ ०७ गते सगरमाथा प्रदुषण नियन्त्रण समितिलाई बुझाइएको थियो भने सगरमाथा तथा आमादब्लम हिमालबाट संकलित Non Bio-degradable (नकुहिने) ६,१९० के.जी. फोहोर Recycling गर्ने प्रयोजनको लागि आज हस्तान्तरण गरिएको हो ।

४.    उक्त कार्यक्रमको दौरान सहायक रथी खड्काले हिमाल सफाईमा खटिएको टिमलाई बधाई तथा सहयोगी संस्था The Coca-Cola Company लगायत सम्बद्ध सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो । मन्तव्य राख्‍ने क्रममा बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले यस्तो चुनौतीपूर्ण समयमा पनि सफा हिमाल अभियान सफलतापूर्वक सम्पन्‍न गर्न दृढ रहेको नेपाली सेना तथा सहयोगी संस्थाहरुको प्रशंसा गर्दै नेपालको गौरव हिमालहरुको संरक्षणमा Coca-Cola Company पनि आबद्ध हुन पाउनु गौरवको विषय रहेको बताउनु भएको थियो ।

५.    सफा हिमाल अभियान २०२१अन्तर्गत् विभिन्‍न ६ वटा हिमालहरुबाट आज सम्म २६,२९७ के.जी. फोहोर संकलन गरिसकिएको छ भने १०,९१० के.जी. फोहोर Recycling तथा व्यवस्थापनको लागि सम्बन्धितहरुलाई हस्तान्तरण गरिएको व्यहोरा समेत जानकारी गराइन्छ ।