नेपाली सेना कृषि विज्ञान संस्थान लमजुङमा निरीक्षण भ्रमण

१.    आज मिति २०७८ ज्येष्ठ २५ गते माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ तथा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले लमजुङ जिल्लाको नेपाली सेना कृषि विज्ञान संस्थानको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२.    नेपाली सेना कल्याणकारी कोषबाट शिक्षा क्षेत्रमा भएको योगदानहरुको बारेमा जानकारी गराउने साथै आगामी योजना अनुसार उक्त केन्द्रलाई नेपाली सेना कृषि विज्ञान संस्थानको रुपमा संचालन गरी स्नातक तहको B.Sc. Agriculture कार्यक्रम सञ्चालन गर्ने लक्ष्य प्राप्तिको सिलसिलामा भएको प्रगतिको विवरण समेत जानकारी गराउने उद्देश्यले यो भ्रमण संचालन भएको थियो । नेपाली सेना अहिले त्रिभुवन विश्वविद्यालयले तोकेको मापदण्ड अनुरुप शैक्षिक र भौतिक पूर्वाधारहरुको विकास गर्ने कार्यको अन्तिम चरणमा पुगेको छ ।

.    निरीक्षण भ्रमणको क्रममा सम्बोधन गर्नुहुँदै माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कृषि प्रधान देश नेपाल, खाद्य सुरक्षाका लागि कृषि उपजमा आत्मनिर्भर हुने तर्फ अग्रसर भईरहेको अवस्थामा, सैनिक कल्याणकारी कोषले नेपाली सेनाका बहालवाला/अवकाश प्राप्त सैनिक तथा आश्रत परिवारलाई आधुनिक व्यवसायिक कृषि तथा पशुपालनमा सरिक गराई स्वदेशमा नै स्वरोजगार सिर्जना गरी आर्थिक रुपमा सक्षम र सामाजिक रुपमा स्थापित गराउन पुर्‍याउंदै आएको योगदानको हार्दिक सराहना गर्नुहुँदै नेपाली सेनाप्रति धन्यवाद व्यक्त गर्नु भएको थियो

४.    उक्त अवसरमा महारथी थापाले कृषि क्षेत्रमा अनुसन्धान, विकास र विस्तार गर्न सक्ने दक्ष जनशक्ति निर्माण गर्दै कृषि उपजमा आत्मनिर्भर हुने नेपाल सरकारको नीति कार्यान्वयन गर्न सहयोग पुर्‍याउने उद्देश्यले नेपाली सेना व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्रलाई स्तरोन्नति गर्न लागेको बताउनु भएको थियो ।

५.    निरिक्षण भ्रमणमा त्रिभुवन विश्व विद्यालयका उप कुलपति प्रा.डा.श्री धर्मकान्त बास्कोटा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव श्री राम प्रसाद थपलिया, सह सचिव डा. हरि लम्साल, रेक्टर शिव भुषाल र कृषि विज्ञान संस्थानको डिन प्रो. भार्गव धिताल उपस्थित हुनु हुन्थ्यो ।