राष्ट्रिय सुरक्षा परिषद्‍बाट संचालित दुई दिने वेबिनारको प्रधान सेनापतिबाट उद्‍घाटन

१. आज मिति २०७८ आषाढ १३ गते प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले राष्ट्रिय सुरक्षा परिषद्‍बाट सञ्‍चालित “नेपालको हिमाली पर्यावरण र पर्वतारोहणमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु” विषयक दुई दिने वेबिनार (Webinar) को Virtual माध्यम मार्फत समुद्‍घाटन गर्नु भएको छ । 

२. राष्ट्रिय सुरक्षा परिषद्‍को सचिवालयका संयोजक एवं रक्षा सचिव रेश्मिराज पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा मन्तव्य राख्‍नुहुँदै प्रधान सेनापति महारथी थापाले नेपालको हिमाली पर्यावरण, पर्यटन तथा यसका विविध पक्षहरुले राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने हुँदा यस क्षेत्रको सुरक्षा र व्यवस्थापनमा सम्बद्ध निकायहरुबिच आपसी समन्वय र सहकार्यको टड्कारो आवश्यकता देखिएको साथै यस क्षेत्रको वातावरणीय महत्त्व हाम्रा लागि मात्र नभई समग्र विश्वका लागि पनि अत्यन्तै बिशेष रहेको बताउनु भएको थियो ।

३. राष्ट्रिय सुरक्षा नीति, २०७५ को एकीकृत कार्ययोजना कार्यान्वयन सन्दर्भमा राष्ट्रिय सुरक्षा नीतिसँग प्रत्यक्ष रुपमा जोडिएको नेपालको हिमाली पर्यावरण, पर्वतारोहण सम्बन्धी सुरक्षा, पर्यटकीय क्षेत्रमा हुने गतिविधिहरुमाथि नियमन तथा राष्ट्रिय निकुञ्‍ज र सीमा सुरक्षालाई प्रभावकारी बनाउन अत्याधुनिक सर्भिलेन्स उपकरणहरुको प्रयोग जस्ता विषयहरु उक्त वेबिनारमा छलफल गर्ने कार्यक्रम रहेको छ । कोभिड-१९ महामारीको कारण Virtual रुपमा संचालित उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइराला र वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कंडेलले पनि आफ्नो मन्तव्य राख्‍नु भएको थियो ।