प्रधानसेनापतिद्वारा वीरगती प्राप्त सकलदर्जाका एकल महिलाहरुसँग भेटघाट

१. आज मिति २०७८ आश्‍विन ०१ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माले बिगत द्वन्द तथा कर्तव्यपालनाको दौरान वीरगती प्राप्त गरेका सकलदर्जाका एकल महिलाहरुसँग जंगी अड्‍डामा भेटघाट गर्नु भएको छ ।  

२. नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, सैनिक श्रीमती संघका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा महारथी शर्माले सिमित श्रोतबाट ९ लाख ५० हजार भन्दा बढी हिताधिकारीहरुको जायज अपेक्षालाई पुरा गर्न आफु सदैव प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्दै सहभागीहरुलाई कल्याणकारी योजना अन्तर्गत तथा सैनिक श्रीमती संघबाट संचालन हुने व्यवसायिक तथा शिपमुलक तालिमहरुबाट लाभ लिंदै महिला उद्यमशिल कर्जा सुविधाको उपभोग गरी स्वरोजगार र आत्मनिर्भर हुन आग्रह गर्नु भएको थियो ।

३. महारथी शर्माले मिति २०७८ भाद्र २५ गते पदवहाली पश्‍चात सकलदर्जालाई गर्नु भएको पहिलो सम्बोधनका क्रममा वीरगती प्राप्त गर्नेहरूका परिवार, एकल महिला, घाइते तथा फरक क्षमता भएका हिताधिकारीलाई प्राथमिकतामा राखी विविध अवसर र सेवासुविधाको सीमालाई क्रमिक रूपमा बढाउँदै लगिने बताउनु भएको थियो । सोही अनुरुप उक्त समूहमा रहेका ८०० जना एकल महिलाहरुलाई नेपाली सेनाले पारिवारीक निवृत्तिभरणको रुपमा वीरगतीतर्फ मासिक रु.३००० र कर्तव्य पालनातर्फ मासिक रु.२००० प्रदान गरिरहेकोमा यही २०७८ आश्विन महिनाबाट मासिक रु.५०० थप गरि वीरगतीतर्फ मासिक रु.३५०० र कर्तव्य पालनातर्फ मासिक रु.२५०० प्रदान गर्ने व्यवस्था भइसकेको व्यहोरा समेत जानकारी गराउंदछौं ।