माननीय रक्षामन्त्रीद्वारा जंगी अड्‍डाको निरीक्षण भ्रमण

१. आज मिति २०७८ आश्विन ३१ गते माननीय रक्षामन्त्री डा. मीनेन्द्र रिजालले जंगी अड्‍डाको निरीक्षण भ्रमण गर्नु भई विविध विषयबारे जानकारी लिनु भएको छ । 

२. प्रधान सेनापति महारथी प्रभुराम शर्माले वहांलाई जंगी अड्‍डामा स्वागत गर्नु हुँदै आफ्नो स्वागत मन्तव्यको क्रममा हालसम्म नेपाली सेनालाई नेपाल सरकार तथा रक्षा मन्त्रालयबाट प्राप्त भईरहेको निर्देशन तथा सहयोगको लागि हार्दिक आभार व्यक्त गर्नु भएको थियो । प्रधान सेनापति महारथी शर्माले रक्षामन्त्रीज्यूको सबल नेतृत्व र निर्देशनमा रक्षा मन्त्रालयबाट नेपाली सेनाको आधुनिकिकरण र पेशागत सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो । साथै, नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको विश्वास समेत दिलाउनु भएको थियो ।

३. तत्पश्‍चात रक्षामन्त्रीज्यूलाई नेपाली सेना सम्बन्धि विविध पक्षहरुमा केन्द्रित रही प्रस्तुतीकरण भएको थियो । 

४. प्रस्तुतीकरण पश्‍चात माननीय रक्षामन्त्रीज्यूले संवोधन गर्नुहुँदै आफु रक्षा मन्त्रीमा नियुक्त भएकोमा गौरव महसुस गरेको बताउनु भएको थियो । सोही क्रममा उहाँले नेपाली सेनाले देश भित्र विपद व्यवस्थापन र कोभीड-१९ महामारी बिरुद्धको प्रतिकार्य तथा देश बाहिर शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नु हुँदै आफ्नो कार्यकाल भरी राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिबृद्धिका लागि प्रयत्नशिल रहने तथा नेपाली सेनाले प्राथमिकतामा राखेका कार्यहरुको कार्यान्वयनमा श्रोतको सुनिश्चितताका लागि हर सम्भव प्रयत्न गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।  

५. उक्त कार्यक्रममा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्‍याल, रक्षा मन्त्रालयका प्रतिनिधिहरु तथा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।