प्रधान सेनापतिको मित्रराष्ट्र भारतको औपचारिक भ्रमण सम्पन्न

१. मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा मिति २०७८ कार्तिक २३ गतेबाट भारत भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी प्रभुराम शर्मा आफ्नो ४ (चार) दिने भ्रमण सम्पन्न गरी आज मिति २०७८ कार्तिक २६ गते स्वदेश फिर्ता हुनु भएको छ ।

२. प्रधान सेनापति महारथी शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले गौचर स्थित नेपाली सेनाको मध्य एयर बेशमा स्वागत गर्नु भएको थियो भने मिति २०७८ कार्तिक २८ गते उहाँको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ । 

३. भारत भ्रमणको क्रममा मिति २०७८ कार्तिक २४ गते प्रधान सेनापति महारथी शर्मालाई भारतका महामहिम राष्ट्रपति राम नाथ कोविन्दले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोह (Investiture Ceremony) मा भारतीय स्थल सेनाको मानार्थ महारथी (Honorary Rank of General of the Indian Army) दर्जा प्रदान गर्नु भएको थियो ।

४. भ्रमणको क्रममा प्रधान सेनापति महारथी शर्माले मिति २०७८ कार्तिक २३ (तदनुसार ९ नोभेम्बर २०२१) गते भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणे, रक्षा सचिव अजय कुमार र Air Chief Marshal VR Chaudhary सँग भेटघाट गर्नु भएको थियो भने मिति २०७८ कार्तिक २४ (तदनुसार १० नोभेम्बर २०२१) गते भारतीय Chief of Defense Staff (CDS) जनरल विपिन रावतसँग भेटघाट गर्नु भएको थियो ।

५. त्यसैगरी उहाँले मिति २०७८ कार्तिक २५ गते (तदनुसार ११ नोभेम्बर २०२१) भारतका माननीय रक्षा मन्त्री राजनाथ सिंह, माननीय विदेश मन्त्री डा. एस. जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नु भएको थियो । 

६. यहि अवसरमा प्रधान सेनापति महारथी शर्माले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरीक्षण भ्रमण समेत गर्नु भएको थियो । उहाँलाई उक्त कलेजको “Wall of Honor” मा Induct गरी सम्मानित गरीएको थियो । उहाँले उक्त कलेजबाट सन् २०१३ मा National Defense Course (NDC) गर्नु भएको थियो । 

७. यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमण र दुई देशका सेनाका प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबीच विगतदेखि रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध सुदृढ हुनुका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर बनाउन महत्वपूर्ण हुने विश्वास नेपाली सेनाले लिएको छ ।