रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्‍न

१. श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजना तथा श्री पश्चिम कमाण्ड हे.क्वा.को समन्वयमा विभिन्न सञ्‍चार माध्यमका १९ जना रक्षा संवाददाताहरुलाई सहभागी गराई २०७८ पौष १८ गतेबाट सुर्खेतस्थित श्री पश्चिम कमाण्ड हे.क्वा.मा संचालन भएको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम (Defence Correspondent Orientation Programme-DCOP) को २०७८ पौष २३ गते नेपालगन्जस्थित श्री नं.४ बाहिनी अड्‍डामा समापन भएको छ ।

२. श्री नं.४ बाहिनी अड्‍डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठकद्वारा गर्नु भएको समापन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको सहभागीता रहेको थियो ।    

३. उक्त कार्यक्रममा रक्षा संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गरिएको थियो भने दैलेख जिल्लास्थित ऐतिहासिक गढी, भेरी डाईभर्सन तथा बर्दिया राष्ट्रिय निकुञ्‍जको स्थलगत भ्रमण समेत गराइएको थियो ।

४. यस प्रकारको कार्यक्रमले रक्षा संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता प्रदान गर्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।