"पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७८" सम्पन्न

१. राष्ट्र निर्माता श्री ५ पृथ्वी नारायण शाहको सम्मानमा विगतका बर्षहरुमा झै यस वर्ष पनि नेपाली सेनाले "पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७८" विविध कार्यक्रमहरुको आयोजना गरि भव्यरुपमा मनाएको छ । यस सन्दर्भमा पौष २० गते देखि नै देशका विभिन्न स्थानहरुमा विविध कार्यक्रमहरु संचालन गरिएका थिए ।  

२. संचालित कार्यक्रमहरुमध्ये गोरखा-काठमाण्डौं एकिकरण मार्ग पदयात्रा उल्लेखनीय रह्‍यो जुन पौष २१ गते गोरखाबाट शुरु भई पौष २७ गते हनुमान ढोकाबाट हिमाली, पहाडी, तराई तथा काठमाण्डौंका नेवार समुदाय लगायतका सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरि राष्ट्रिय एकता झल्कने बाजागाजा, झाँकी, लाखेनाच सहितको सांस्कृतिक प्रस्तुतिकासाथ जङ्गी अड्डामा समापन भएको थियो । उक्त पदयात्राको दौरान श्री ५ पृथ्वी नारायण शाहको फोटो बग्गीमा राखी नगर परिक्रमा समेत गरिएको थियो । यसका साथै देशका विभिन्न स्थानहरुमा नेपाली सेनाका युनिटहरुले पदयात्रा संचालन गरेका थिए ।

३. यसका अलवा, पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरिएको  राष्ट्रव्यापि कविता प्रतियोगिताका उत्कृष्ट ७ कविता वाचन गर्नुका साथै इतिहासविद प्रा. श्री दिनेशराज पन्तबाट श्री ५ पृथ्वीनारायण शाहको दिब्योपदेश सम्बन्धी प्रवचनको कार्यक्रम गरिएको थियो । तत्पश्चात कायममुकायम प्रधान सेनापति एवं बलाधिकृत रथी बालकृष्ण कार्कीले जङ्गी अड्डास्थित श्री ५ पृथ्वी नारायण शाहको शालिकमा सलामी तथा माल्यार्पण गर्नु भएको थियो । 

४. यसै क्रममा अपरान्ह नेपाली सेनाको कल्याणकारी कोषबाट संचालित सबै सैनिक विद्यालयका बाल बालिकाहरु समावेश गरी नेपाली इतिहासका विविध पक्षहरुबारे हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको थियो भने त्यसै गरी नेपाली सेनाका सकलदर्जाबीच तथा सैनिक विद्यालयका विद्यार्थीहरु बीच छुट्टाछुट्टै संचालन गरिएको चित्रकला प्रतियोगिता र नेपाली सेनाका सकलदर्जाहरु बीच संचालन गरिएको लेखरचना प्रतियोगिताका विजयीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । तत्पश्चात, तत्कालिन समयमा सेना र सर्वसाधारण लगायतले राष्ट्र निर्माणमा पुर्‍याएको योगदान तथा सेनाको वीरगाथा र बलिदानमा आधारित चलचित्र "नालापानी" को प्रदर्शनी समेत गरिएको थियो । 

५. यसै क्रममा, गोरखा-काठमाण्डौं एकीकरण मार्ग पदयात्राको शुरुवात देखि नै पदमार्गमा पर्ने सर्वसाधारण, स्थानीय निकाय एवं सरोकारवालाहरुले देखाएको आत्मीयता, उल्लासपूर्ण स्वागत तथा सहभागिता एवं सम्पूर्ण कार्यक्रमहरुप्रति समाजका सबै तह र तप्काले देखाएको अपनत्वप्रति नेपाली सेना हार्दिक आभार प्रकट गर्दछ साथै यस कार्यक्रमले राष्ट्रिय एकता, सैनिक ईतिहास एवं पर्यटन प्रबर्द्धनमा समेत थप टेवा पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।