नेपाली सेनाको बिमान दुर्घटनासम्बन्धी थप जानकारी

१. हिजो मिति २०६८ कार्तिक ०१ गते साँझ नेपालगञ्जबाट बिमारी लिई काठमाण्डौतर्फ उडेको नेपाली सेनाको आर.ए.एन ४९ आईलेण्डर बिमान राति बाग्लुङ्ग जिल्लाको बोवाङ्ग, फागुनेधुरीलेकमा दुर्घटनाग्रस्त भएको छ । २. बाग्लुङ्ग जिल्लाको नेपाली सेनाको भीमगिठ्ठेस्थित सुरक्षा पोष्टबाट उद्धारको लागि खट्टिएका टोलीले बिहानैदेखि उद्धार कार्य गरिरहेका छन् । आज बिहानै नेपाली सेनाको MI-17 हेलिकोप्टरसहित त्यसतर्फ खट्टिएको थप उद्धार टोलीबाटसमेत उद्धारकार्य भइरहेको छ । ३. नेपालगञ्जस्थित श्री नं.४ फिल्ड एम्बुलेन्स गुल्ममा उपचारको लागि भर्ना भएका सिपाही केशवसिंह ऐरी र सिपाही मिलन गोतामेलार्ई थप उपचारको लागि छाउनीस्थित श्री वीरेन्द्र अस्पताल ल्याउने क्रममा सो बिमान दुर्घटनामा परेको हो । हिजो साँझ ६:२५ बजे नेपालगंजबाट काठमाण्डौतर्फ आउने क्रममा ७:०५ बजे अर्घाखाँचीको ठाडामा अन्तिम सम्पर्क भएपछि सो बिमान सम्पर्क-विहीन भएको थियो । ४. उक्त विमानमा सवार विरामीहरु बाहेक चालकद्धय सेनानी विशालसिंह राठौर र दिवाकर कार्की तथा सह–सेनानी डाक्टर रमिता पाठक र सिपाही केशवसिंह ऐरीका दाजु नेपाल प्रहरीका प्रहरी जवान रघुवीर ऐरी रहेका थिए । ५. दुर्घटना सम्बन्धमा बिस्तृत जानकारी प्राप्त हुनासाथ सार्वजनिक गरिने व्यहोरा यसै बिज्ञप्तीद्वारा जानकारी गराइन्छ ।