"केन्द्रिय तहको प्रमुख सुवेदार र ज्येष्ठ सुवेदार समन्वयात्मक बैठक- २०७८" सम्पन्‍न

१. मिति २०७८ फाल्गुण ०९ गतेबाट जंगी अड्डामा शुरु भएको दुईदिने "केन्द्रिय तहको प्रमुख सुवेदार र जेष्ठ सुवेदार समन्वयात्मक बैठक- २०७८" कार्यक्रम आज मिति २०७८ फाल्गुण १० गते प्रधानसेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्‍न भएको छ ।  

२. समापनको क्रममा मन्तव्य राख्‍नुहुँदै प्रधानसेनापति महारथी शर्माले यस समन्वयात्मक बैठक नेपाली सेनाको एक महत्वपूर्ण तथा प्रतिक्षित कार्यक्रम रहेको बताउनु हुँदै प्रमुख सुवेदार र जेष्ठ सुवेदार भनेको नेपाली सेनाको मेरुदण्ड रहेको बताउनु भएको थियो । विल्लादार तथा जवानहरुलाई अभिभावकत्व प्रदान गर्ने प्रमुख दायित्व र जिम्मेवारी बोकेको व्यक्ति प्रमुख सुवेदार र जेष्ठ सुवेदार नै रहेको जानकारी गराउँदै उहाँले पद्दति र प्रणालीलाई थप सुदृढ, परिपक्व र दिगो वनाउने कार्यमा प्रमुख सुवेदार र सिनियर सुवेदारहरुको भूमिका महत्वपुर्ण हुने बताउनु भएको थियो । 

३. यस दुईदिने कार्यक्रमको शुभारम्भमा बलाधिकृत रथी बालकृष्ण कार्कीले आफ्नो स्वागत मन्तव्य राख्‍नुहुँदै प्रमुख सुवेदार र जेष्ठ सुवेदारहरुलाई अधिकृत तथा अन्यदर्जाहरुको बीचमा रहने सम्बन्धलाई अझ सहज र बलियो बनाउन विशेष भूमिका निर्वाह गर्न निर्देशन दिनु भएको थियो । सोही क्रममा उहाँले यस समन्वयात्मक बैठक पश्चात सेनाभित्र रहेका विद्यमान समस्या, भावी चुनौती र त्यसका समाधानका उपायहरु माथि थप छलफल र विवेचना गर्न सहज भई कार्यान्वयनको चरणमा पहलकदमी लिन सहायक सिद्ध हुने विश्वास व्यक्त गर्नु भएको थियो । 

४. समन्वयात्मक बैठकमा सहभागी प्रमुख सुवेदार र जेष्ठ सुवेदारहरुले संगठन भित्रका समस्या र चुनौती, कार्य समिक्षा, वर्तमान वस्तुस्थिती, पदिक तथा अन्यदर्जाको वृत्ति विकास तथा अवसर व्यवस्थापन, सुपथ मूल्य क्याण्टिनको प्रभावकारीता, मेश तथा बासस्थानको स्तरोन्नती एवं सुधार लगायतका विषयहरुमा छलफल गरी राय सुझाव प्रस्तुत गरेका थिए । कोभिड-१९ महामारीकाबीच आयोजना भएको उक्त बैठकमा स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्दै जंङ्गी अड्डालगायत नेपाली सेनाका विभिन्‍न फर्मेशन तथा युनिट/सव युनिटहरुबाट ५० जना प्रमुख सुवेदार र जेष्ठ सुवेदारहरुको सहभागिता रहेको थियो ।