नेपाली सेनाद्वारा आयोजित निःशुल्क "बृहत प्रदर्शनी" शुभारम्भ

१. "सेना दिवस २०७८" को अवसरमा नेपाली सेनाद्वारा आयोजना गरिएको नेपाली सेना सम्बन्धी  "बृहत प्रदर्शनी-२०७८" को आज मिति २०७८ फाल्गुण १४ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माले समुद्‍घाटन गर्नु भई विधिवत रुपमा शुभारम्भ गर्नु भएको छ ।

२. "नेपाली सेना इतिहासदेखि वर्तमानसम्म" भन्ने थिममा आधारित रही मिति २०७८ फाल्गुण १४ गतेदेखि ऐ.१६ गतेसम्म जंगी अड्‍डा परिसरमा संचालन हुने उक्त बृहत प्रदर्शनीमा नेपाली सेनाको गौरवमय इतिहास तथा वर्तमानलाई समेटेर विगतदेखि वर्तमानसम्म गरेका उल्लेखनीय कार्यहरु, नेपाली सेनाका ऐतिहासिक हातहतियार तथा उपकरणहरु, पोशाक, सैनिक व्याण्ड, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौज, खेलकुद, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनालगायत विविध सामग्री तथा फोटोहरु आमजनमानसले अवलोकन गर्न पाउँने छन् । आमजनमानस विशेष गरी युवावर्ग, विद्यार्थी, बालबालिकाहरुले नेपाली सेनालाई नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले यस निःशुल्क बृहत प्रदर्शनीको आयोजना गरिएको हो ।  

३. उपत्यका भित्रका विद्यालयहरुका विद्यार्थीहरु, आम नेपाली जनता, पर्यटक तथा अन्य विदेशी नागरिकहरुका लागि समेत खुला गरिएको उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरुलाई सहज होस् भन्ने हेतुले नेपाली सेनाका विभिन्न हातहतियार तथा उपकरणहरु, पोशाकलगायत अन्य सामग्रीहरुको फरक फरक स्टल बनाई उक्त सामग्रीहरुका बारेमा अवलोकनकर्ताहरुलाई जानकारी गराउने व्यवस्था समेत मिलाईएको छ । 

४. उक्त समुद्‍घाटन कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, काठमाण्डौं महानगरपालिकाका उप-प्रमुख, नेपाल स्थित विभिन्न राजदूतावासका सैनिक सहचारीहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, इतिहासविद्, नेपाल आर्ट काउन्सिलका प्रतिनिधिहरु, ऐतिहासिक फोटोग्राफर, विभिन्न संचारमाध्यमका रक्षा संवाददाता तथा फोटो पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।