प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

१. प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज मिति २०७८ चैत्र ०८ गते दाङ्ग जिल्ला, घोराहीस्थित श्री नं.१९ बाहिनी अड्‍डा, बझाङ्ग जिल्लास्थित श्री बीरभद्रजङ्ग गुल्म र डोटी जिल्ला, दिपायलस्थित श्री नं. ५ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गर्नु भएको छ । भ्रमणको दौरान वहाँले बाहिनी अड्‍डाहरु तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी हासिल गर्नु भई सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो । निरीक्षणकै क्रममा प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाले बझाङ्ग जिल्लामा संचालन गरिरहेको अपरेशन “हिमाल दर्शन” को स्थलगत निरीक्षण गर्नुभई अपरेशनमा सहभागी फौजसँग भेटघाट तथा सम्बोधन समेत गर्नु भएको थियो ।

२. मध्य कमाण्ड हेडक्वार्टर र पश्चिम कमाण्ड हेडक्वार्टर अन्तर्गतका युनिटहरुको तीन दिने निरीक्षण भ्रमणको क्रममा रहनु भएका प्रधान सेनापति महारथी शर्माले मिति २०७८ चैत्र ९ गते बाजुरा जिल्लास्थित श्री दुर्गाभञ्‍जन गुल्मको निरीक्षण भ्रमण र श्री नं. ५ बाहिनी अड्‍डामा संचालन हुने “भू.पू. सैनिक सम्मेलन-२०७८” को उद्‍घाटन गर्नु हुने कार्यक्रम रहेको छ ।

३. साथै, प्रधान सेनापति महारथी शर्माले मिति २०७८ चैत्र १० गते डोटी जिल्लास्थित रुद्रध्वज गणको निरीक्षण भ्रमण र धनगढीस्थित श्री भवानीदल गणमा संचालन हुने “भू.पू. सैनिक सम्मेलन-२०७८” मा सहभागी हुनुहुने कार्यक्रम रहेको छ ।