उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम (Advanced Course on National Security) सम्पन्न

१. नेपाल सरकार, रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा मिति २०७८ फाल्गुण २२ गतेदेखि सञ्‍चालन भएको सि.सं. ७ उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम (Advanced Course on National Security) को आज मिति २०७८ चैत्र ११ गते सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा समापन भएको छ ।

२. सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी श्री हिरालाल जोशीको स्वागत मन्तव्यसहित शुभारम्भ भएको उक्त समापन समारोहमा, सहभागी शिक्षार्थीहरुलाई बधाई दिँदै प्रधान सेनापति महारथी प्रभुराम शर्माले वर्तमान परिवेशमा आर्थिक, राजनीतिक र सैनिक क्षेत्रहरुमा आफ्नो पकड स्थापित गर्न शक्ति राष्ट्रहरुबीचको प्रतिष्पर्धाले विशेष स्थान लिईरहेको हुँदा अन्तराष्ट्रिय, क्षेत्रिय र राष्ट्रिय सुरक्षा वातावरण चलायमान बन्न पुगेको बताउनु भएको थियो । साथै, सुरक्षाको दायरा फराकिलो हुँदै गईरहेको अवस्थामा राष्ट्रिय सुरक्षामा परम्परागत सुरक्षा खतरा र अपरम्परागत चुनौतीहरु थपिँदै गईरहेकोले यस्ता बहुआयामिक चुनौतीहरुको उचित व्यवस्थापनको लागि राजनीतिक, कुटनीतिक, रणनीतिक तथा शैक्षिक वृत्त लगायत आम नागरिकमा समेत सामरिक धारणा तथा सोचको बृद्धि भई समग्रमा सामरिक संस्कृतिको विकास हुनुपर्ने र यसलाई सैनिक चासोको विषय मात्र नभई Whole of the Nation Approach को रुपमा बुझ्न र अभ्यास गर्न जरुरी भएको तथ्यलाई जोड दिनु भएको   थियो । सोही क्रममा उहाँले, आगामी बर्षको UN day लाई थप बृहतीकरण गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा विशेष योगदान पुर्‍याउनु भएका व्यक्तित्वहरुको समेत सहभागीता गराई अन्तराष्ट्रिय स्तरको सेमिनार सहितको विशेष कार्यक्रमको तयारी भईरहेको समेत जानकारी गराउनु भएको थियो ।      

३. उक्त समारोहमा समापन मन्तव्य राख्‍नु हुँदै सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री देउवाले  देशको संवेदनशील भू-राजनैतिक अवस्थितिको कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि हाम्रो राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने हुँदा देशको हित र स्वार्थमा कुनै पनि किसिमको आँच आउन नदिन सबैजना सजग र प्रतिवद्ध हुन आवश्यक रहेको बताउनु भएको थियो । साथै, राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउने सन्दर्भमा विभिन्न निकायहरुबीच, अन्तर-निकाय समन्वय र सहकार्य बलियो बनाउन आवश्यक रहेको समेत जानकारी गराउनु भएको थियो ।

४. वि.सं. २०७२ सालबाट शुरु गरिएको यस तालिममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, विभिन्न मन्त्रालय एवं नेपाल रेडक्रसका वरिष्ठ अधिकारीहरु र संचारकर्मीहरु गरी जम्मा २८ जनाको सहभागिता रहेको थियो भने हालसम्म १४३ जनाले यस तालिममा सहभागिता जनाइसक्नु भएको छ । उक्त समापन समारोहमा विभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, पूर्व शिक्षाध्यक्षहरु, अतिथि वक्ताहरु एवं नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।