'प्रधान सेनापति ट्रफि-२०७८' को समुद्‍घाटन

१. आज मिति २०७८ चैत्र १६ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माले जंगी अड्डास्थित खेल मैदानमा 'प्रधान सेनापति ट्रफि-२०७८' खेलकुद प्रतियोगिताको समुद्‍घाटन गर्नु भएको छ ।

 २. श्री सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक, उपरथी सीताराम खड्काले स्वागत मन्तव्य राख्नु भएको उक्त समुद्‍घाटन कार्यक्रममा खेलाडीहरुबाट मार्चपाष्ट, विभिन्न सँस्कृति झल्कने झाँकी, सराए नाच तथा सैनिक व्याण्डबाट व्याण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको थियो । २०७९ बैशाख ०२ गतेसम्म संचालन हुने यस प्रतियोगितामा नेपाली सेनाका ४ वटा कमाण्ड र ६ वटा बाहिनी अड्‍डासहित जम्मा २४ वटा टिमहरुको सहभागीता रहेको छ । 

३. सोही प्रतियोगिता अन्तर्गत आज महिला ४ सय मिटर दौड तथा पुरुष ८ सय मिटर दौडको फाइनल खेल समेत संचालन भएको थियो भने उक्त प्रतियोगितामा तेक्वान्दो, बक्सिङ्ग, पौडी, आर्चरी, एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल गरी ९ वटा विधाका खेलहरु संचालन हुनेछन् ।

 ४. उक्त समुद्‍घाटन कार्यक्रममा रक्षा मन्त्रालय तथा युवा खेलकुद मन्त्रालयका सचिवहरु, पूर्व प्रधान सेनापतिहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रमुखहरु, वहालवाला तथा अवकास प्राप्त रथीबृन्दहरु, नेपाल ओलम्पिक कमिटिका महासचिव, सैनिक श्रीमति संघका कार्यकारिणी पदाधिकारीहरु, सैनिक सहचारीहरु, विभिन्न खेलकुद संघका अध्यक्षहरु, नेपाली सेनाका अधिकृत लगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

५. 'राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद' भन्ने मुल नारामा आधारित रहेर नेपाली सेना भित्रका खेल प्रतिभाहरुको पहिचान गरी उनीहरुको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्षमतावान खेलाडीहरु तयार गर्ने उद्देश्यका साथ २०६५ सालबाट शुरु भएको 'प्रधान सेनापति ट्रफि-२०७८' नेपाली खेलकुद क्षेत्रको समग्र विकासको लागि कोसेढुङ्गा सावित भएको विश्वास नेपाली सेनाले लिएको छ ।