“सफा हिमाल अभियान २०२२” को Flag off Ceremony सम्पन्न

१. जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाको अगुवाईमा मिति २०७८ चैत्र २२ गतेबाट २०७९ जेठ २२ गतेसम्म संचालन हुन गईरहेको "सफा हिमाल अभियान २०२२" को आज मिति २०७८ चैत्र २२ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा जंगी अड्‍डामा आयोजित एक विशेष समारोहका बीच Flag off Ceremony सम्पन्न भएको   छ । 

२. श्री राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशकबाट स्वागत मन्तव्य तथा Campaign Leader बाट समग्र अभियान संचालन सम्बन्धी जानकारीमूलक प्रस्तुतीकरण सहित शुरु भएको उक्त कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले Campaign Leader हरुलाई “Mountain Clean-up Campaign-2022” को Banner हस्तान्तरण गर्नु भई “सफा हिमाल अभियान २०२२” को औपचारिक रुपमा शुभारम्भ गर्नु भएको छ । 

३. प्रकृति तथा पर्यावरणको संरक्षण तथा जलवायु परिवर्तनका असरहरुलार्इ न्यूनीकरण गर्न विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य तीन हिमालहरु (ल्होत्से, कञ्‍चनजंघा र मनास्लु) को सफाई गर्ने उद्देश्य अनुरुप “AN ENDEAVOUR TO SAVE THE HIMALAYAS” भन्‍ने मूल नाराका साथ उक्त अभियान संचालन गर्न लागिएको हो ।

४. प्रधान सेनापति महारथी शर्माद्बारा शुभकामना मन्तव्यका साथै वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव र पर्यटन विभागका महानिर्देशकले मन्तव्य राख्नु भएको उक्त समारोहमा राष्ट्रिय सभाका माननीय सांसद, विभिन्न मन्त्रालयका सचिव, नेपाली सेनाका रथीवृन्द, विभिन्न गाउँपालिकाका अध्यक्ष, राष्ट्रिय प्रकृति संरक्षण कोषका पदाधिकारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपालस्थित विभिन्न राजदूतावासका सैनिक सहचारीहरु, पर्वतारोहण र सांगीतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु, सफा हिमाल अभियान २०२२ का साझेदार संघसंस्थाहरुका पदाधिकारीहरु एवं सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

५. नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुन लागेको उक्त अभियानमा नेपाल सरकारका सम्बद्ध निकायहरु लगायत नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति, अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना, Expedition Operators Associations, Himalayan Rescue Association, WWF Nepal, ब्यापारिक संघसंस्थाहरु कोकाकोला कम्पनी, युनिलिभर नेपाल, Surya Nepal Pvt. Ltd., Yeti Airlines, Nepal Distilleries Pvt. Ltd, Jawalakhel Group of Industries, Avni Ventures हरुको आर्थिक एवं प्राविधिक सहयोग समेत रहेको छ भने उक्त अभियानको सेवा प्रदायकको रुपमा Peak Promotion Company रहेको छ ।  

६. ३५ टन फोहोर संकलन गर्ने लक्ष्यका साथ शुरु भएको उक्त अभियान विश्व वातावरण दिवसका दिन औपचारिक रुपमा समापन हुनेछ । यस बर्ष सफा हिमाल अभियानको दौरान नेपाली सेनाका ४ (चार) डाक्टर अधिकृतहरु खट्टिएर हाई अल्टिच्युडले स्वास्थ्यमा पार्ने प्रभाव अध्ययन गर्नुका साथै जोखिम न्यूनीकरणका लागि माउण्टेन मेडिसिन रिशर्च समेत गर्नेछन् ।

७. नेपाली सेनाले विभिन्न सरकारी तथा गैह्र सरकारी संघसंस्थाहरुसँगको समन्वय र सहकार्यमा सन् २०१९ देखि "सफा हिमाल अभियान" शुरु गरेको थियो । यस किसिमको अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदुषण तथा Global Warming को असरलाई कम गर्न केही हदसम्म सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।