"सैनिक आचार संहिता कार्यक्रम-२०७९" शुभारम्भ

१. नेपाली सेनामा कार्यरत सकलदर्जालाई आफू पदमा बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यवहारिक आचरणहरुका बारेमा सु-सूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने एवं नेपाली सेनाका सकलदर्जालाई "सैनिक आचार संहिता संग्रह-२०७६" मा उल्लेखित विषयहरुमा शिक्षित गर्ने उद्देश्य अनुरुप मिति २०७९ वैशाख ०७ गतेदेखि ऐ. ०८ गतेसम्म दिन-२ (दुई) संचालन हुने “सैनिक आचार संहिता कार्यक्रम-२०७९” को आज मिति २०७९ वैशाख ०७ गते बलाधिकृत रथी श्री बालकृष्ण कार्कीले जङ्गी अड्डास्थित श्री त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा शुभारम्भ गर्नु भएको छ ।

२. उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बलाधिकृत रथी कार्कीले “सैनिक आचार संहिता कार्यक्रम-२०७९” बाट नेपाली सेनाको सबै तहका कमाण्डर लगायत तल्लो तहसम्म आचार संहिताबारे ज्ञान अभिवृद्धि हुनुका साथै एक आपसमा विश्वासको वातावरण श्रृजना भई नेपाली सेनाका सकलदर्जालाई अझै अनुशासित, नैतिवान र व्यवसायिक फौजको रुपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

३. सोही क्रममा, वहाँले संविधानप्रदत्त जिम्मेवारीलाई निसङ्कोच बहन गर्नको निम्ति कटिबद्ध नेपाली सेनाका प्रत्येक जवानले आफू स्वयंलाई नैतिकवान, चरित्रवान, पेशेवर, उर्जाशिल बनाउन अपरिहार्य रहेको जानकारी गराउनु हुँदै सकलदर्जाले आफ्नो आचरण मर्यादित र नैतिकवान बनाउनको निमित्त यस कार्यक्रमले सघाउ पुग्ने साथै सैनिक सदस्यहरु सबैले स्वस्फूर्त स्वअनुशासनमा रहेर सैनिक ऐन र नियमको परिधिभित्र रहि कार्यसम्पादन गर्न अपरिहार्य रहेको बताउनु भएको थियो ।

४. साथै, नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिति रहेको उक्त कार्यक्रम, मिति २०७९ बैशाख ०८ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माबाट समापन हुने योजना रहेको छ ।