प्रधान सेनापतिद्वारा बेलीबृजको समुद्‍घाटन तथा सडक आयोजना निरीक्षण

१. नेपाल सरकारबाट प्राप्त जिम्मेवारी अनुरुप, नेपाली सेनाले आ.व. २०७३/७४ बाट निर्माण कार्य प्रारम्भ गरेको गोरखा जिल्लास्थित बेनीघाट-आरुघाट-लार्केभञ्‍ज्याङ्ग सडक आयोजना (कुल लम्बाई ९२ कि.मि.), अन्तर्गत माछा खोलामा नवनिर्मित बेलीबृजको आज मिति २०७९ जेठ ०५ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले समुद्‍घाटन गर्नु भएको छ ।   

२. उक्त समुद्‍घाटन कार्यक्रममा रक्षा सचिव श्री किरण राज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव श्री रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका निमित्त महानिर्देशक श्री शिव प्रसाद नेपाल, उप महानिर्देशक श्री उमेश विन्दु श्रेष्ठ, स्थानीय जनप्रतिनिधिहरु र नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

३. समुद्‌घाटन कार्यक्रम पश्चात, प्रधान सेनापति महारथी शर्माले बेनीघाट-आरुघाट-लार्केभञ्‍ज्याङ्ग सडक आयोजनाको निर्माणाधिन सडक खण्डको हेलिकप्टरमार्फत निरीक्षण गर्नु भई आयोजनाको प्रगति विवरण लगायत विविध पक्षका बारेमा जानकारी लिनुका साथै सडक निर्माण कार्यमा परिचालित सकलदर्जालाई सम्बोधन समेत गर्नु भएको थियो ।

४. नेपाली सेनाद्वारा गरिएका यस प्रकारका विकास निर्माणका कार्यहरुले समग्र देश विकासमा टेवा पुर्‍याउनुका साथै नागरिक-सैनिक सम्बन्ध थप सुमधुर हुने विश्वास नेपाली सेनाले लिएको छ ।