"International Day of UN Peacekeepers 2022" को अवसरमा नेपाली सेनाद्वारा विशेष कार्यक्रमको आयोजना

१. विश्व शान्ति स्थापनार्थ खटिने शान्ति सैनिकहरुले पुर्‍याएको योगदानको स्मरण र कदर स्वरुप मनाईने "International Day of UN Peacekeepers 2022" को अवसर पारेर नेपाली सेनाले आज मिति २०७९ जेठ १३ (तद्अनुसार 27th May, 2022) गते पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा माननीय गृहमन्त्री श्री बालकृष्ण खाणको प्रमुख आतिथ्य एवं संयुक्त राष्ट्रसंघीय शान्ति कार्यमा संलग्न हुने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुको सहभागितामा विशेष कार्यक्रमको आयोजना गरेको छ । 

२. उक्त कार्यक्रममा, प्रमुख अतिथीले विश्‍व शान्ति स्थापनाको सिलसिलामा वीरगती प्राप्त गरेका शान्ति सैनिकहरुको सम्मानमा शान्ति स्मारकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्नु भएको थियो । तत्पश्चात, प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले संयुक्त राष्ट्रसंघको झण्डोत्तोलन गर्नु भएको थियो । कार्यक्रमकै दौरान, माननीय गृहमन्त्री खाणले यस बर्ष शान्ति स्थापना कार्यमा नि:स्वार्थ भावनाले बहादुरीपूर्वक कार्य गरी विशेष योगदान पुर्‍याउनु भएका दुईजनालाई प्रशंसा पत्र तथा वीरगती प्राप्त ५ (पाँच) जना नेपाली शान्ति सैनिकहरुलाई "Dag HammarskjÖld Medal" र सम्मान पत्र प्रदान गर्नु भएको थियो । वीरगती प्राप्त शान्ति सैनिकहरुको सम्मानमा प्रदान भएको उक्त मेडल र सम्मान पत्र वहाँहरुका परिवारलाई हस्तान्तरण गरिएको थियो ।

३. "People Peace Progress: The Power of Partnership" आदर्श वाक्य रहेको "International Day of UN Peacekeeper" कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुँदै बलाध्यक्ष रथी श्री सरोज प्रताप राणाले विश्व शान्ति तथा सुरक्षा स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण शान्ति सैनिकहरुले पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो ।   

४. कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै गृहमन्त्री खाणले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले विश्व शान्ति स्थापना कार्यमा खटिए देखि नै प्रदर्शन गरेको उच्च तहको पेशागत दक्षता एवं समर्पणको प्रशंसा गर्नु हुँदै तीनवटै सुरक्षा निकायका शान्ति सैनिकहरुले शान्ति स्थापना कार्यमा पुर्‍याएको अतुलनीय योगदानका लागि विगत र हालका नेतृत्वहरुलाई बधाई दिनु भएको थियो ।

५. साथै, उक्त कार्यक्रममा धन्यवाद मन्तव्य राख्नु हुँदै प्रधान सेनापति महारथी शर्माले हालका दिनमा UN मिशनहरुमा बढ्दो सुरक्षा जटिलतालाई दृष्टिगत गरी शान्ति सैनिकहरुको पेशागत क्षमता अभिवृद्धि गर्नु आजको आवश्यकता रहेको धारणा व्यक्त गर्नु भएको थियो । मन्तव्यकै क्रममा वहाँले, संयुक्त राष्ट्र संघका महासचिवको लैङ्गिक समानता रणनीतिप्रति नेपाली सेना प्रतिबद्ध रहेको जानकारी गराउदै भविष्यमा शान्ति मिशनहरुमा महिला सहभागितालाई उल्लेखनीय रूपमा वृद्धि गर्दै लगिने विश्वास दिलाउनु भएको थियो । 

६. नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु, रक्षा सचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, पाँचखाल नगरपालिकाका मेयर, परराष्ट्र मन्त्रालयका सह सचिव, नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, काभ्रेपलाञ्‍चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका प्रतिनिधि तथा नेपालमा कार्यरत विभिन्न राष्ट्रका सैनिक सहचारीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सो केन्द्रमा तालिमरत नेपाली सेनाका सकलदर्जाबाट पेशागत तालिम सम्बन्धी प्रदर्शनी (Demonstration) प्रस्तुत गरिनुका साथै नेपाली शान्ति सैनिकहरुले विश्वका विभिन्न मुलुकहरुमा शान्ति स्थापनार्थ गरेका विविध कार्य एवं योगदानहरु झल्कने तस्विर प्रदर्शनी तथा "Way towards Center of Excellence" नामक भिडियो र शान्ति स्थापना कार्यमा वीरगति प्राप्त सकलदर्जा प्रति समर्पित भिडियो समेत प्रदर्शनी गरिएको थियो ।