मित्रराष्ट्र नाइजेरियाको National Defence Course को भ्रमणदलद्वारा जंगी अड्‍डा भ्रमण

१. मिति २०७९ जेठ २२ गतेदेखि "Tourism Development in Nepal and Lessons for Nigeria" भन्ने थिममा आधारित रही नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र नाइजेरियाको National Defence Course (NDC)-30 मा सहभागी शिक्षार्थी तथा Faculty Member हरु सम्मिलित २२ सदस्यीय भ्रमणदलले आज मिति २०७९ जेठ २३ गते जंगी अड्‍डामा भ्रमण गरेका छन् ।

२. उक्त भ्रमणदललाई जंगी अड्डामा नेपाली सेनासँग सम्बन्धित विषयहरुमा प्रस्तुतिकरण तथा अन्तरक्रियात्मक कार्यक्रमहरु संचालन गरिएको थियो । साथै, उक्त भ्रमण टोलीका Head of Delegation Brigadier General Alechenu Mike Alechenu ले आजै प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग जंगी अड्डामा शिष्टाचार भेटघाट समेत गर्नु भएको थियो ।  

३. उक्त भ्रमणदलले शिवपुरीस्थित श्री सैनिक कमाण्ड तथा स्टाफ कलेज, पोखरास्थित श्री मध्य कमाण्ड हेडक्वार्टर तथा पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलगायत नेपालस्थित विभिन्न पर्यटकीय स्थल एवं सो सँग सम्बन्धित निकायहरुको भ्रमण सम्पन्‍न गरी मिति २०७९ जेठ २८ गते नाइजेरिया फिर्ता हुने कार्यक्रम रहेको छ ।

४. विगतमा पनि मित्रराष्ट्रहरुमा संचालित उच्चस्तरका तालिममा सहभागी शिक्षार्थीहरुले नेपालको भ्रमण गर्ने तथा नेपाली सेनामा संचालित Command And Staff Course तथा Higher Command And Management Course का शिक्षार्थीहरुले पनि मित्रराष्ट्रहरुको भ्रमण गर्ने परम्परा रही आएको छ । मित्रराष्ट्रका सैनिकबाट हुने यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं मजबुद पार्न थप मद्दत पुग्‍न गई दुई देशबीचको आपसी हित र पारस्परिक सम्बन्ध समेत सुमधुर तथा प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।