पदिक तथा हुद्धा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

१. भक्तपुर जिल्लाको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित सि.सं. ४९ पदिक/हुद्धा अधिकृत क्याडेट तालिम सफलतापूर्वक सम्पन्न गर्नु भएका अधिकृत क्याडेटहरुलाई आज मिति २०७९ जेठ २३ गते एक विशेष समारोहका बीच प्रधान सेनापति महारथी प्रभुराम शर्माले उक्त तालिमका ६२ जना पदिक/हुद्धा अधिकृत क्याडेटहरुलाई सहायक सेनानी दर्जाको आयुक्त पद प्रदान गर्नु भएको छ । 

 २. उक्त अवसरमा प्रधान सेनापति महारथी शर्माले सि.सं. ४९ पदिक/हुद्धा अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृत क्याडेट गणेश डल्लाकोटीलाई "खुकुरी" प्रदान गर्नु भएको थियो । 

३. प्रधान सेनापति महारथी शर्माले नवआयुक्त अधिकृतहरुलाई तालिम सफलतापूर्वक सम्पन्‍न गर्नुभएकोमा हार्दिक बधाई दिनुहुँदै तालिमको दौरान अधिकृत क्याडेटहरुले देखाउनु भएको शारीरिक र मानसिक सहनशीलता, समर्पण भाव, उच्च आत्मविश्वास, कठिन परिश्रम र दृढताको प्रशंसा गर्नु भएको थियो । उहाँले नेपाली सेनाले संविधान प्रदत्त प्रमुख जिम्मेवारीको अलावा विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरु, नागरिक-सैनिक सम्बन्ध बिस्तार र अप्रत्यासित रुपमा आईपर्ने राष्ट्रिय संकटहरुमा नेपाली जनतासँग काँधमा काँध मिलाउँदै नेपाल र नेपाली जनताप्रति सदा बफादार रही आफ्नो कार्य गर्दै आएको र विगत देखि नै स्वदेश तथा विदेशमा पुर्‍याएको योगदानकै आधारमा नेपाली सेनाले वर्तमानमा पनि व्यावसायिक र मर्यादित संगठनको रुपमा बिम्ब स्थापना गर्न सकेको बताउनु भएको थियो ।

४. सोही समारोहमा प्रधान सेनापति शर्माले नवआयुक्त अधिकृतहरुलाई हार्दिक बधाई तथा शुभकामना दिनु हुँदै आगामी दिनहरुमा नेपाली सेनाको जिम्मेवार अधिकृतका हैसियतले आफुलाई प्राप्त जिम्मेवारीहरु संस्थागत हितलाई केन्द्रविन्दुमा राखी प्रशंसनिय ढंगबाट पुरा गर्दै नेपाली सेनाको व्यावसायीक छवीलाई थप उज्जवल बनाउन व्यक्तिगत तथा सामुहिक योगदान प्रदान गर्नेमा पूर्ण विश्‍वास व्यक्त गर्नुभएको थियो ।