रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्‍न

१. श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजना तथा श्री मध्य कमाण्ड हेड क्वार्टरको समन्वयमा विभिन्न सञ्‍चार माध्यमका २५ जना रक्षा संवाददाताहरुलाई सहभागी गराई मिति २०७९ जेठ २२ गतेबाट पोखरास्थित उक्त कमाण्ड हेड क्वार्टरमा संचालन भएको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम (Defence Correspondent Orientation Programme-DCOP) को आज मिति २०७९ जेठ २७ गते बुटवलस्थित श्री नं.२२ बाहिनी अड्‍डामा समापन भएको छ ।

२. उक्त कार्यक्रममा रक्षा संवाददाताहरुलाई नेपाली सेनाको साङ्गठनिक स्वरुप, भूमिका तथा नेपाली सेना अन्तर्गतका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारी लगायत अन्य विविध विषयहरुमा प्रस्तुतिकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गरिनुका साथै तनहुँस्थित तनहुँ हाईड्रो पावर, पोखरास्थित शान्ति स्तुपा, पाल्पास्थित पाल्पा दरबार संग्रहालय तथा रानी महल, लुम्बिनी र बुटवलस्थित जितगढीको स्थलगत भ्रमण समेत गराइएको थियो । 

३. उक्त रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रमको श्री नं.२२ बाहिनी अड्‍डाका बाहिनीपति सहायक रथी श्री नवराज गुरुङ्गले समापन गर्नु भएको थियो । यस प्रकारको कार्यक्रमले रक्षा संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहजता तथा स्पष्टता प्रदान हुने विश्‍वास नेपाली सेनाले लिएको छ ।