प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा 'Annual Chiefs of Defense (CHOD) Conference-2022' मा सहभागी हुन अष्ट्रेलिया जानु हुँदै

१. मिति २०७९ असार ३१ गतेको मन्त्रिपरिषद्‍को निर्णयबाट स्वीकृत भए अनुरुप प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा, मिति २०७९ श्रावण ०९ गतेदेखि ऐ.११ गते (तद्अनुसार 25th-27th July 2022) सम्म Australian Defense Force को संयोजकत्वमा U.S. Indo Pacific Command द्वारा अष्ट्रेलियाको सिड्नीमा आयोजना हुन लागेको "Annual Chiefs of Defense (CHOD) Conference-2022" मा सहभागी हुनका लागि मिति २०७९ श्रावण ०७ गते मित्रराष्ट्र अष्ट्रेलिया प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ । 

२. वि.सं. २०५६ सालदेखि नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको उक्त Conference मा एशिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरुको उपस्थितिमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षहरुलाई समेटी विविध सुरक्षाका विषयहरुमा छलफल हुनुका साथै सहभागी राष्ट्रका सेना प्रमुखहरुबीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयहरुमा छलफल, अन्तरक्रिया तथा विचार आदानप्रदान हुनेछन् ।

३. अष्ट्रेलिया प्रस्थान गर्नुपूर्व प्रधान सेनापति महारथी शर्मालाई आज मिति २०७९ श्रावण ०६ गते नेपाली सेनाको एक टुकडीद्वारा जंगी अड्‍डामा सम्मान गारत अर्पण गरिएको थियो । प्रधान सेनापति महारथी शर्माको अनुपस्थितीमा बलाधिकृत रथी श्री बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । 

४. यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रहरुका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्‍भावमा थप विस्तार हुन गई सैनिक कुटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।