प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा औपचारिक कार्यक्रम सम्पन्न गरी स्वदेश फिर्ता

१. मिति २०७९ असार ३१ गतेको मन्त्रिपरिषद्‍को निर्णयबाट स्वीकृत भए अनुरुप प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा, मिति २०७९ श्रावण ०९ गतेदेखि ऐ. ११ गते (तद्अनुसार 25-27 July 2022) सम्म अष्ट्रेलियाको सिड्नीमा आयोजित "Annual Chiefs of Defense (CHOD) Conference-2022" मा सहभागी हुनु भएको थियो । साथै, सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्रिस्तरको मिति २०७९ असार २२ गतेको निर्णयानुसार मिति २०७९ श्रावण १२ गतेदेखि ऐ.२० गते (तद्‌नुसार 28 July-05 August 2022) सम्म ९ (नौ) दिन अष्ट्रेलिया मै रहने गरी घर बिदा स्वीकृत भए अनुसार उहाँ बिदा पश्‍चात मिति २०७९ श्रावण २० गते स्वदेश फिर्ता हुनु भएको छ ।

२. प्रधान सेनापति महारथी शर्मालाई बलाधिकृत रथी श्री बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भि.आई.पि. कक्षमा स्वागत गर्नु भएको थियो । उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो । साथै, उहाँको सम्मानमा, मिति २०७९ श्रावण २२ गते जङ्गी अड्‍डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ । 

३. उक्त Conference मा प्रधान सेनापति महारथी शर्मा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, जलवायु परिवर्तन लगायतका समसामयिक विषयहरुमा भएका छलफल तथा अन्तरक्रियामा सहभागी हुनु भएको थियो। 

४. यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रहरुका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्‍भावमा थप विस्तार हुन गई सैनिक कुटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।