"नेपालमा खाद्य सुरक्षा" सम्बन्धी सेमिनार प्रारम्भ

१. खाद्य सुरक्षा सम्बन्धि समष्टिगत अवस्थाको मूल्याङ्कन, विद्यमान नीति एवं कार्यान्वयन तहमा परिमार्जन गर्न उपयुक्त विषयहरुको विश्‍लेषण गरी राय सुझाव प्रस्तुत गर्ने उद्देश्य अनुरुप श्री राष्ट्रिय सुरक्षा परिषद्‍को सचिवालय र नेपाली सेनाको संयुक्त आयोजनामा आज मिति २०७९ भाद्र ०१ गतेबाट जङ्गी अड्‍डामा संचालन भएको 'नेपालमा खाद्य सुरक्षा' विषयक दुई दिने सेमिनारको माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री श्री मृगेन्द्र कुमार सिंह यादवले समुद्‍घाटन गर्नु भएको छ । 

२. श्री राष्ट्रिय सुरक्षा परिषद्‍को सचिवालयका संयोजक रक्षा सचिव श्री किरणराज शर्माको स्वागत मन्तव्य सहित प्रारम्भ भएको उक्त सेमिनारमा मन्तव्य राख्नु हुँदै माननीय मन्त्री यादवले वर्तमान परिपेक्ष्यमा खाद्य सुरक्षा जस्तो बहुआयामिक एवं महत्वपूर्ण विषयमा सम्बन्धितहरुसँग छलफल गरी भावी योजनाहरुका सम्बन्धमा विश्लेषण गर्ने अभिप्रायका साथ आयोजित यस सेमिनार संचालन गरेकोमा धन्यवाद व्यक्त गर्दै सेमिनारको सफलताको कामना गर्नु भएको थियो । 

३. नेपाली सेनाका प्रधान सेनापति, रथीवृन्द, सम्बन्धित मन्त्रालय, विभाग, अन्य सुरक्षा निकायका पदाधिकारीहरु तथा सम्बन्धित विषयका विज्ञहरुको सहभागितामा संचालित उक्त सेमिनारको दौरान विशेषत: नेपालको विद्यमान खाद्य सुरक्षाको अवस्था, चुनौतीहरु तथा खाद्य सुरक्षाको सम्वर्द्धन तथा प्रवर्द्धनका लागि अवलम्वन गर्नुपर्ने भावी लक्ष्य, योजना र अवसरहरुका बारेमा प्रस्तुतीकरण तथा छलफल केन्द्रित रहनेछ । साथै, यस सेमिनारको समापन मिति २०७९ भाद्र ०२ गते सम्माननीय प्रधानमन्त्री एवं रक्षामन्त्री श्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा हुनेछ ।

४. नेपालमा खाद्य सुरक्षालाई सम्वर्द्धन तथा प्रवर्द्धनमुखी बनाउन अपनाउनु पर्ने आगामी लक्ष्य, योजना र अवसरहरु पहिचान गर्न यस सेमिनार प्रभावकारी सावित हुने विश्वास गरिएको छ ।