'कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७९' सम्पन्न

१. मिति २०७९ भाद्र ०९ गतेदेखि जङ्गी अड्‍डामा सञ्चालन भएको दुई दिवसीय ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७९’आज मिति २०७९ भाद्र १० गते सम्पन्न भएको छ । 

२. राष्ट्रिय, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय परिवेशको गहन समिक्षा गरी उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरु माथि सुक्ष्म विश्लेषण सहित शुरु भएको उक्त बैठकमा चारवटै कमाण्डका कमाण्ड सेनापति, जङ्गी अड्‍डाका विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयहरुबाट विगतको कार्यको समिक्षा तथा वर्तमान गतिविधिहरु समेटी प्रस्तुतीकरण भएको थियो । उक्त कार्यक्रममा समापन मन्तव्य राख्नु हुँदै प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले यथार्थपरक छलफलमा केन्द्रित रहेको उक्त समन्वयात्मक बैठक फलदायी रहेको विश्वास व्यक्त गर्दै नेपाली सेनाले सामुहिक स्वामित्व र सामुहिक निर्णयलाई निरन्तरता दिने बताउनु भएको थियो ।

३. मन्तव्यकै क्रममा वहाँले, नेपाली सेनाको पेशागत दक्षता अभिवृद्धि गर्न Combat Communication को विस्तृतीकरण र सवलीकरणमा जोड दिई आवश्यक तालिमलाई समायानुकुल आधुनिकीकरण गर्न साधन श्रोतको मितव्ययी व्यवस्थापन तथा सुनिश्चितता गरी समष्टिगत रुपमा एक पेशेवर सेनाको निर्माण गर्न सधै प्रयत्‍नशील रहनुपर्ने तथ्यलाई प्रकाश पार्दै सकलदर्जाको अनुशासन एवं वेलफेयरलाई अझ सुदृढ गराउँदै लैजानु पर्ने आवश्यकता औल्याउनु भएको थियो ।  

४. सोही क्रममा प्रधान सेनापति महारथी शर्माले, चारवटै कमाण्डका कमाण्ड सेनापतिहरुलाई आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई मध्यनजर गरी नेपाल सरकारबाट प्राप्त हुन सक्ने जस्तोसुकै जिम्मेवारी वहन गर्न तयारी अवस्थामा रहनुका साथै आफ्नो जिम्मेवारी क्षेत्रभित्र हुन सक्ने सुरक्षा चुनौतीहरुलाई सुक्ष्म अध्ययन तथा विश्लेषण गरी सोही अनुसार अन्य सुरक्षा निकायसँगको सहकार्य र Info Sharing लाई जोड दिँदै नेपाली सेनाले निर्वाह गर्नुपर्ने सम्भावित भूमिकाको लागि तयारी हालतमा रहन तथा निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य उत्कृष्ट ढंगले सम्पन्न गर्न निर्देशन दिनु भएको थियो । 

५. नियमित रुपमा सञ्चालन हुने यस प्रकारको उच्चस्तरीय समन्वयात्मक बैठकमा भएका प्रस्तुतिकरण र उठान भएका बिषयवस्तुहरुमाथि भएको गहन छलफल तथा आपसी अन्तरक्रियाबाट प्राप्त भएका अमूल्य राय सुझावहरुले नेपाली सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देश गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।