बडा दशैं २०७९ को उपलक्ष्यमा फूलपाती बढाइँ कार्यक्रम सम्पन्‍न

१. आज मिति २०७९ असोज १६ गते सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सैनिक मञ्‍च टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ समारोह सम्पन्न भएको छ ।

२. कार्यक्रमको प्रारम्भमा प्रमुख अतिथि सम्माननीय राष्ट्रपतिमा नेपाली सेनाको सम्मान गारतले सलामी अर्पण गरे पश्‍चात नेपाली सेनाको हेलिकप्टरबाट नेपाली र अंग्रेजी भाषामा "फूलपाती बढाइँ समारोह-२०७९" लेखिएको व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । तत्पश्चात बढाइँ टोलीले राईफलबाट विभिन्‍न पाटाहरुबाट छिटो लहरे, एकठ्ठा र दुर्गायन्त्र आकृति समेत बनाई बढाइँ गर्नुका साथै तोपबाट पनि बढाइँ गरिएको थियो । उक्त कार्यक्रममा नेपाली सेनाको महिला गुल्म समेत सम्मिलित टोलीबाट मार्च पास प्रदर्शन गर्नुका साथै नेपाली सेनाको ब्यान्डबाट मालश्री धुन तथा दुर्गा भजनहरुको धुन समेत प्रस्तुत गरिएको थियो ।

३. नेपाली सेनाद्वारा आयोजित उक्त फूलपाती बढाइँ समारोहमा सम्माननीय उपराष्ट्रपति, प्रधानमन्त्री एवं रक्षामन्त्री, का.मु. प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्री गण, संवैधानिक अङ्गका प्रमुखहरु, नेपाल सरकारका सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, पूर्व प्रधानसेनापतिहरु, बहालवाला रथीवृन्द लगायत सञ्‍चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

४. यस अघि मिति २०७९ असोज १३ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले मानार्थ उप सेनानी दर्जामा पदोन्नती हुनु भएका ५१ (एकाउन्न) जना मध्ये उपत्यकाभित्र कार्यरत १८ (अठार) जना पदिकहरुलाई मानार्थ उप सेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो साथै सोही दिन नेपाली सेनाका १ (एक) जना सकलदर्जा र गैह्र सैनिक व्यक्ति २ (दुई) जना गरी जम्मा ३ (तीन) जनालाई “प्रधान सेनापति प्रशंसा निशान” प्रदान गर्नु भएको थियो । सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माले आ.व. ०७८/७९ मा युद्ध मद्दती बाहिनी अन्तर्गतका युनिटहरुमा संचालन भएको "युद्धकार्य तथा पेशागत निरीक्षण" मा उत्कृष्ट भएका युनिटहरु श्री राजअस्त्र गण, श्री कालीभञ्‍जन गण (ई), श्री विनायकदल गण, श्री त्रिनेत्रदल गण र श्री रणवीर कवच गणलाई कदर पत्र तथा नगद पुरस्कार समेत प्रदान गर्नु भएको थियो ।