संयुक्त राष्ट्रसंघ दिवस (UN DAY) को अवसरमा नेपाली सेनाद्वारा विशेष कार्यक्रमको आयोजना

१. संयुक्त राष्ट्रसंघको स्थापना भएको दिन अर्थात UN Day को अवसर पारेर नेपाली सेनाले २ दिने विशेष कार्यक्रम गर्ने योजना अनुरुप आज मिति २०७९ कार्त्तिक ०५ गते (तदानुसार 22 October, 2022) जङ्गी अड्‍डास्थित खेल मैदानमा प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माको प्रमुख आतिथ्यमा “Solidarity for International Peace and Stability” थिममा आधारित रही विशेष कार्यक्रम आयोजना गरेको छ । 

२. बलाध्यक्ष रथी श्री सरोज प्रताप राणाको स्वागत मन्तव्य सहित शुरु भएको उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीद्वारा मार्च पाष्ट प्रदर्शन, नेपाली सेनाद्वारा विभिन्न प्रकारका झाँकी, Aikido, जुम्बा, व्याण्ड डिस्प्ले गर्नुका साथै काठमाण्डौं उपत्यका भित्रका सैनिक आवासिय महाविद्यालय/विद्यालय र राष्ट्रिय सेवा दलका शिक्षार्थीहरुद्वारा नृत्य प्रदर्शन गरिएको थियो । साथै, उक्त कार्यक्रमको दौरान ५ कि.मि. वाकाथन (Peace March) र ३२०० मिटर साईकल स्प्रिन्ट प्रतियोगिता समेत संचालन गरिएको थियो । 

३. उक्त कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु, रक्षा सचिव श्री किरणराज शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक श्री धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक श्री राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक श्री हुतराज थापा, नेपालस्थित विभिन्न देशका कुटनितिक नियोगका पदाधिकारीहरु, नेपालस्थित संयुक्त राष्ट्र संघको विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, सञ्‍चारकर्मीहरु लगायत नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिती रहेको थियो । 

४. उक्त कार्यक्रम पश्चात, प्रधान सेनापति महारथी शर्माले विभिन्न खेलकुद ईभेन्टका विजेताहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । 

५. दोश्रो दिनको कार्यक्रम अन्तर्गत मिति २०७९ कार्तिक ०६ गते (तदानुसार 23 October, 2022) जङ्गी अड्‍डामा माननीय परराष्ट्र मन्त्री डा. श्री नारायण खड्काको प्रमुख आतिथ्यमा "Emerging Capability Requirements in UN Peace Operations and Way Forward" विषयक एक दिने अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्ने कार्यक्रम रहेको छ ।

६. नेपाली सेनाद्वारा आयोजित यस प्रकारको कार्यक्रमले विश्व शान्ति स्थापना कार्यमा नेपाली सेनाको कटिबद्धता राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा उजागर हुने विश्वास नेपाली सेनाले लिएको छ ।