प्रधान सेनापति र संयुक्त राष्ट्रसंघका महासचिवज्यूका सैनिक सल्लाहकारबीच भेटघाट

१. आज मिति २०७९ कार्तिक ०६ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघ मुख्यालय, Office of Military Affairs का सल्लाहकार General Birame Diop बीच जङ्गी अड्‌डामा भेटघाट भएको छ । 

२. संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा नेपाली सेनाले आयोजना गरेको २ दिने विशेष कार्यक्रममा सहभागी हुन General Birame Diop मिति २०७९ कार्तिक ०६ गते नेपाल आउनु भएको थियो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपत्यका पृतना हे.क्वा.का पृतनापति उपरथी श्री योगराज शर्माले स्वागत गर्नु भएको थियो ।

३. प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानका साथै भविष्यमा समेत नेपाली शान्ति सैनिकहरुको आवश्यकता तथा सहभागिताको बारेमा छलफल भएको थियो । छलफलका क्रममा General Diop ले नेपाली शान्ति सैनिकहरुले विभिन्न शान्ति मिशनहरुमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनहरुमा पनि सो को निरन्तरता हुने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी प्रधान सेनापति महारथी शर्माले संयुक्त राष्ट्रसंघबाट हालसम्म प्राप्त सहयोग तथा अवसरको लागि General Diop लाई धन्यवाद दिनुका साथै यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै नेपाली सेना अझ पेशेवर रुपमा प्रभावकारी ढंगबाट शान्ति मिशनहरुमा खटिने कटिबद्धता व्यक्त गर्नुभएको थियो ।

४. संयुक्त राष्ट्रसंघ मुख्यालयबाट भएको यस किसिमको उच्चस्तरीय भ्रमण तथा भेटघाटले नेपाल तथा नेपाली शान्ति सैनिकहरुले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानको अन्तराष्ट्रिय जगतबाट उच्च मुल्याङ्कन भएको विश्वास नेपाली सेनाले लिएको छ ।