प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

१. प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन-२०७९ को सुरक्षा तयारी एवं वस्तुस्थितिका बारेमा जानकारी हासिल गरी आवश्यक निर्देशन प्रदान गर्ने उद्देश्यका साथ विभिन्न जिल्लाहरुमा निरीक्षण भ्रमण गर्ने क्रममा आज मिति २०७९ कार्तिक २८ गते मकवानपुर जिल्ला, हेटौंडास्थित श्री मध्य पृतना हे.क्वा., सिन्धुली जिल्ला, माझीटारस्थित श्री  नं. ९ बाहिनी अड्‍डा र सुनसरी जिल्ला, ईटहरीस्थित श्री पूर्वी पृतना हे.क्वा.को निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको दौरान उहाँले उक्त पृतना हे.क्वा.हरु तथा बाहिनी अड्‍डा तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाका, प्रदेशहरुसँगको समन्वय लगायत आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको एकिकृत सुरक्षा योजनाका बारेमा जानकारी हासिल गर्नु भई आवश्यक निर्देशन दिनु भएको थियो । सोही क्रममा प्रधान सेनापति महारथी शर्माले उक्त पृतना हे.क्वा. तथा बाहिनी अड्‍डाका सकलदर्जालाई सम्बोधन गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षा सम्बन्धी जिम्मेवारीहरु उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन दिनु भएको थियो ।

३. उक्त निरीक्षण भ्रमणमा रक्षा मन्त्रालयका सह सचिव श्री प्रकाश पौडेलको समेत सहभागिता रहेको थियो ।

४. दुई दिने निरीक्षण भ्रमणको क्रममा रहनु भएका प्रधान सेनापति महारथी शर्माले मिति २०७९ कार्तिक २९ गते मोरङ्ग जिल्ला, थलाहास्थित श्री भैरव गण, उदयपुर जिल्ला, झुल्केस्थित श्री नं. १८ बाहिनी अड्‍डा र काभ्रेपलाञ्‍चोक जिल्ला, भकुण्डेवेसीस्थित श्री नं. २६ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गर्नुका साथै आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन-२०७९ को सुरक्षार्थ नेपाली सेनाद्वारा काभ्रेपलाञ्‍चोक जिल्ला, महाभारत ईलाकामा स्थापना गरिएको Platoon Operating Base (POB) को निरीक्षण भ्रमण गर्नु हुने कार्यक्रम रहेको छ ।