सेना प्राड विवाक सेमिनार २०७९ सम्पन्‍न

१. सेना प्राड विवाक स्थापनाको ६० औं बार्षिकोत्सवको अवसरमा मिति २०७९ पौष २६ गतेबाट जंगी अड्डामा आयोजित सेना प्राड विवाक सेमिनारको आज मिति २०७९ पौष २८ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले समापन गर्नु भएको छ ।

२. सैनिक न्याय प्रणाली सम्बन्धी ज्ञान अभिवृद्धिमा योगदान पुर्‍याउने उद्देश्यका साथ विगत केही बर्षदेखि नियमित रुपमा आयोजना हुंदै आएको यस बर्षको प्राड विवाक सेमिनारको मिति २०७९ पौष २६ गते बलाध्यक्ष रथी श्री सिताराम खड्काले शुभारम्भ गर्नुभएको थियो ।

३. सेमिनार समापनको अवसरमा आज मिति २०७९ पौष २८ गते आयोजित एक विशेष कार्यक्रममा प्रमुख अतिथि सम्माननीय कायममुकायम प्रधान न्यायाधिश श्री हरिकृष्ण कार्की र प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले प्राड विवाक जर्नल २०७९ को संयुक्त रुपमा विमोचन गर्नुभयो । कार्यक्रमको दौरान सैनिक विशेष अदालतका पूर्व अध्यक्ष तथा सदस्यहरु र सेना प्राड विवाकका अवकाश प्राप्त रथीवृन्दहरुलाई प्रमुख अतिथि सम्माननीय कायममुकायम प्रधान न्यायाधिश कार्की र प्रधान सेनापति महारथी शर्माले सम्मानित गर्नुभयो । उक्त कार्यक्रममा सर्वोच्च अदालतका माननीय न्यायाधिशहरु, माननीय महान्यायाधिवक्ता, उच्च अदालतका माननीय कायममुकायम मुख्य न्यायाधीश तथा पूर्व मुख्य न्यायाधीश, उच्च अदालतका माननीय बहालवाला तथा भूतपूर्व न्यायाधीशहरु, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृतहरु, बलाधिकृत रथी श्री सरोज प्रताप राणा, बलाध्यक्ष रथी श्री सिताराम खड्कालगायत नेपाली सेनाका रथीवृन्द, अधिकृत तथा सेना प्राड विवाकका पूर्व रथीवृन्दहरुको समेत उपस्थिती रहेको थियो ।