मित्रराष्ट चीनको औपचारिक भ्रमण समाप्त गरी प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग स्वदेश फिर्ता

१. मित्रराष्ट्र चीनको चिनियाँ जनमुक्ति सेनाका Member of Central Military Commission तथा सेनाध्यक्ष General Chen Bingde को औपचारिक निमन्त्रणामा चीनको भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको नेतृत्वमा रहेको छ सदस्यीय भ्रमणदल आज मिति २०६८ कार्तिक २० गते बिहान स्वदेश फिर्ता भएको छ । २. जनमुक्ति सेनाको मुख्यालयमा प्रधानसेनापति गुरुङ्गको सम्मानमा चिनियाँ जनमुक्ति सेना, जल सेना तथा हवाई सेनाको संयुक्त टुकडीले सम्मान गारत अर्पण गरेको थियो । ३. भ्रमणको क्रममा नेपाली सेनाको छाउनीस्थित श्री वीरेन्द्र अस्पताललाई आधुनिक उपकरणहरुले सुसज्जित गर्न प्रधानसेनापति महारथी श्री गुरुङ्ग र सेनाध्यक्ष General Bingde बीच नेपाली सेनालाई ४ करोड ९० लाख चिनियाँ युआन (करिब रु.६० करोड २७ लाख) बराबरको सैनिक सहयोग उपलव्ध गराउने प्रोटोकलमा हस्ताक्षर भएको थियो । ४. प्रधानसेनापति महारथी श्री गुरुङ्गसँग चीनका Central Military Commission का Vice Chairman General Xu Caihou ले समेत भेट गरी द्विपक्षीय हितका विषयमा छलफल गर्नुभएको थियो । ५. प्रधानसेनापति महारथी श्री गुरुङ्गले Beijing Garrison को नं.३ डिभिजन, बेईजिङ्गस्थित National Defence University -NDU_, चिनियाँ जनमुक्ति सेनाको General Hospital र Kunming Military Academy को भ्रमण गर्नु भएको थियो । प्रधानसेनापति महारथी श्री गुरुङ्गको सम्मानमा चिनियाँ जनमुक्ति सेनाका सेनाध्यक्ष General Bingde र Vice Chairman General Caihou ले आयोजना गर्नुभएको रात्रीभोज कार्यक्रममा चीनका लागि नेपाली महामहिम राजदुत टंक प्रसाद कार्कीको समेत उपस्थिती रहेको थियो । साथै Zhenjiang Provincial Military Command र Yunnan Provincial Military Command को भ्रमण गर्नु भई सो कमाण्डका कमाण्डरहरुले वहाँको सम्मानमा छुट्टाछुट्टै आयोजना गरेको रात्रीभोज कार्यक्रममा समेत प्रधानसेनापति महारथी श्री गुरुङ्ग सरिक हुनु भएको थियो । ६. उहाँलाई बलाध्यक्ष रथी श्री गौरव शम्शेर ज.व.रा.ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्नु भएको थियो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानसेनापतिसमक्ष सम्मान गारत अर्पण गरेको थियो । स्वागत समारोहमा नेपाली सेनाका रथीबृन्दलगायत नेपालस्थित विदेशी सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो । ७. छ सदस्यीय भ्रमणदल मिति २०६८ कार्तिक १३ गते चीन प्रस्थान गरेको थियो ।