कार्यरथी सम्मेलन २०७९ सम्पन्‍न

१. नेपाली सेनाको जनशक्ति ब्यवस्थापन, संगठनात्मक गतिबिधिहरूको संचालन, संस्कृति तथा परम्पराको संरक्षण एवं सैनिक अनुशासन सम्वन्धि जिम्मेवार “कार्यरथी विभाग” द्वारा आज मिति २०७९ पौष २९ गते जङ्गी अड्‍डामा पहिलो पटक आयोजित एकदिवसीय कार्यरथी सम्मेलन २०७९ प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माको प्रमुख आतिथ्यमा सम्पन्‍न भएको छ । 

२. बलाधिकृत रथी श्री सरोज प्रताप राणाले शुभारम्भ गर्नुभएको सो सम्मेलनमा कार्यरथी विभाग अन्तर्गतका निकायहरुबाट आ-आफ्नो जिम्मेवारीको वर्तमान वस्तुस्थिति, सम्पादित कार्यहरूको समिक्षा एवं सुझावहरु सहितको प्रस्तुतीकरण गरिएको थियो । समापन कार्यक्रममा कार्यरथी उपरथी श्री सागर बहादुर थापाले धन्यवाद मन्तव्य ब्यक्त गर्नुभएको थियो । उक्त समापन कार्यक्रमको दौरान प्रधान सेनापति महारथी शर्माले अवकाश प्राप्त कार्यरथीहरुलाई सम्झना स्वरुप उपहार प्रदान गर्नुभएको थियो । समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी शर्माले सैनिक जनशक्तिको व्यवस्थापन तथा सकलदर्जाको अनुशासन कायम राख्‍न कार्यरथी विभागले महत्वपूर्ण भूमिका निर्वाह गरेको भनी प्रशंसा गर्नु भयो । उहांले बहालवाला एवं अवकाशप्राप्त सकलदर्जा तथा आश्रित परिवारजनको कल्याण आफ्नो प्राथमिकताको बिषय भएको कुरा उल्लेख गर्दै ब्यक्तिगत स्वार्थका लागि संगठनात्मक मर्यादा, अनुशासन, चेन अफ कमाण्ड र नैतिक आचरण पालना नगर्ने प्रवृत्ति नेपाली सेनालाई स्वीकार्य नहुने कुरा बताउनु भयो । 

३. सो सम्मेलनमा अवकाश प्राप्त कार्यरथीहरूका साथै बलाध्यक्ष रथी श्री सिताराम खड्का, रथीवृन्द तथा अधिकृतहरुको सहभागिता रहेको थियो । यस किसिमको सम्मेलन र आपसी अन्तर्क्रिया तथा पूर्व कार्यरथीहरुको अनुभव आदानप्रदानबाट प्राप्त राय सुझावहरुले नेपाली सेनालाई जिम्मेवारी निर्वाह गर्न र भावी नीति तथा योजना निर्माणमा ठोस योगदान प्राप्त हुने विश्वास नेपाली सेनाले लिएको छ ।