भूतपूर्व सैनिक सम्मेलन-२०७९ आयोजना

१. “भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा-सेनाप्रतिको समर्पण र भरोसा”नारासहित बुटवलस्थित श्री मध्य पश्चिम पृतना हे.क्वा.मा आज फाल्गुण १५ गते भूतपूर्व सैनिक सम्मेलन-२०७९ सम्पन्न भएको छ । गुल्मी, अर्घाखाँची, कपिलबस्तु, पाल्पा, परासी, रुपन्देही र नवलपुर गरी जम्मा ७ (सात) जिल्लाहरुमा बसोबास गर्ने ३९९८ जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागिता रहेको सो सम्मेलनको समुद्‍घाटन पश्चात सम्बोधन गर्दै प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले भू.पू. सैनिकहरु अवकाश प्राप्त जीवनमा पनि सेनाको रक्षा कवच एवं सेनालाई समाजसँग जोड्ने महत्त्वपूर्ण सेतुको रुपमा रहंदै आएको कुरा बताउनु भयो। उहांले सेनाको संस्थागत मूल्य र मान्यतालाई अनुशरण गर्दै सैनिक सेवाको दौरान आर्जित ज्ञान, शीप र कलाको प्रयोग गरी आ-आफ्नो क्षेत्रबाट राष्ट्र सेवामा समर्पित रहँदै आउनु भएका अवकाश प्राप्त सैनिक व्यक्तिहरुले प्रदर्शन गर्ने अनुशासन र  सेवाभावले समग्र नेपाली सेनाको छवि निर्धारण गर्ने बताउनु भयो ।   

२.     सम्बोधनकै क्रममा प्रधान सेनापतिले नेपाली सेनाका सकल दर्जाको रगत र पसिनाबाट आर्जित कल्याणकारी कोषको रकम पारदर्शी रुपमा सदुपयोग गर्दै दीर्घकालिन प्रभाव पार्ने सेवा सुविधा विस्तार गरी अवकाश प्राप्त सैनिकहरुको जीवनलाई थोरै भएपनि सरल, सहज र सुखी बनाउन प्रयत्नशील रहेको बताउनु भयो । सोही क्रममा उहाँले वीरगति प्राप्त सकलदर्जाका सन्तती र एकल महिलालाई सदैव महत्वका साथ हेरिँदै आएको र यसको निरन्तरता स्वरुप देशका विभिन्न ६ स्थानमा एकल महिला स्वरोजगार केन्द्रहरु  संचालन भईरहेको एवं वीरगति प्राप्त सकलदर्जाका सन्ततीलाई नेपाली सेनाको भर्नामा प्राथमिकताका लागि प्रयत्नशील रहेको बताउनु भयो । 

३.     सम्मेलनमा पाल्पा जिल्ला निवासी ९७ (सन्तानब्बे) वर्षका प्युठ दल बहादुर घ.म. (अ.प्रा.) र स्वर्गीय हुद्धा अम बहादुर था.म. (अ.प्रा.) को श्रीमती पाल्पा जिल्ला निवासी ९२ (बयानब्बे) वर्षकी एकल महिला श्रीमती हिम कुमारी थापालाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट लघुउद्यमी/व्यवसायीहरु दुई जनालाई प्रशंसा-पत्र एवं पुरस्कार वितरण गरिएको थियो । सोही क्रममा ४ वा सो भन्दा बढी सन्ततिहरु नेपाली सेनामा रहेका ७ (सात) जना अभिभावकहरुलाई सम्मान, फरक क्षमता भएका तथा अशक्‍त ११ (एघार) जनालाई व्हिल चेयर, बैसाखी तथा आर्थिक सहयोग र विभिन्न सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिहरुलाई कर्जाको चेक वितरण गरिएको थियो । 

४.     भू.पू. सैनिकहरुको तर्फबाट प्रादेशिक रथीबृन्द प्रतिनिधि रथी नेपाल भूषण चन्द (अ.प्रा.) तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका महासचिव प्र.से. श्यामसुन्दर घिमिरे (अ.प्रा.) ले मन्तव्य राख्नुहुंदै अवकाशप्राप्त सैनिक र आश्रित परिवारजनलाई पुर्‍याउँदै आएको सहयोगका लागि नेपाली सेना प्रति आभार प्रकट गर्नुभयो । बलाध्यक्ष रथी सिताराम खड्काले समापन मन्तब्य राख्नुहुंदै कल्याणकारी गतिबिधिलाई सरल, सहज र बिस्तार गर्न निरन्तर प्रयास भैरहेको कुरा बताउनु भयो । 

५.  सम्मेलनमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरु, नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी गौरव तण्डुल (अ.प्रा.), रक्षा मन्त्रालयका सह सचिव, नेपाल ईन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा परिवारहरुका साथै संचारकर्महरुको उपस्थिति रहेको थियो । त्यस अवसरमा भू.पू. सैनिक तथा एकल महिलाहरुको तर्फबाट मार्चपाष्ट लगायत स्थान विशेषको झाँकी, विभिन्न संस्कृति झल्किने नृत्य, राष्ट्रिय सेवादलका क्याडेटद्वारा एकता नृत्य र सैनिक व्याण्डको प्रस्तुती प्रदर्शन गरिएको थियो ।

६.    सम्मेलनकै अवसर पारेर फाल्गुण १३, १४ र १५ गते सैनिक मेडिकल टिमद्वारा योगीकुटी ब्यारेकमा स्वास्थ्य शिविर संचालन गरि MOPD, Surgical, ENT, Dental, Ortho, Gynae, Paediatrics, Eye, Pathology, X-ray, USG, ECG, Physiotherapy, Dermatology लगायतका स्वास्थ्योपचार सेवा प्रदान गरिएको छ । जसबाट ३३१४ जना लाभान्वित भएका छन् । 

७. यसै क्रममा मिति २०७९ फाल्गुण १६ गते दाङ्गको भरतपुर व्यारेकमा भूतपूर्व सैनिक सम्मेलन आयोजना हुने कार्यक्रम छ । सम्मेलनमा अवकाश प्राप्त सैनिकहरुको भेटघाट र अवकाश पश्चातको अनुभव आदानप्रदान गर्ने अवसर मिल्नुका साथै सैनिक नेतृत्वसँगको अन्तरक्रियाबाट कल्याणकारी कार्यहरूलाई थप प्रभावकारी बनाउंदै लैजान महत्वपूर्ण सुझावहरू प्राप्त हुने विश्वास नेपाली सेनाले लिएको छ ।