१. मध्य पश्चिम पृतना अन्तर्गत बुटवलमा सम्पन्न भूतपूर्व सैनिक सम्मेलनको अर्को दिन नं. १९ बाहिनी अन्तरगतको दाङ्गस्थित श्री रणसिंहदल गणमा दाङ्ग, सल्यान, पूर्वी रुकुम, पश्चिम रुकुम, रोल्पा र प्युठान गरी जम्मा ६ (छ) जिल्लाहरुमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागितामा भूतपूर्व सैनिक सम्मेलन आयोजना गरिएको छ । नेपाली सेना कल्याणकारी बोर्डको समन्वयमा कल्याणकारी योजना निर्देशनालयबाट देशको बिभिन्न स्थानहरूमा यस्ता सम्मेलनहरूको आयोजना हुंदै आएको छ ।
२. दाङ्गमा सम्पन्न सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले भू.पू. सैनिकहरुलाई सम्मानजनक जीवनयापनमा सघाउन नेपाली सेनाले विभिन्न गतिबिधि सन्चालन गर्दै आएको कुरा बताउनु भयो। उहांले उपलब्ध स्रोत साधनको समुचित प्रयोग गरी दीर्घकालीन कल्याणकारी सेवा तथा सुविधा विस्तार गर्न नेपाली सेना प्रयत्नशील रहेको जानकारी गराउनु भयो । सैनिक कल्याणकारी गतिबिधिहरूलाई दीगो र प्रभावकारी तुल्याउने प्रयासहरूलाई सरकारका तर्फबाट उचित ऐनकानुन तथा नीति नियमहरूको तर्जुमा गरि सहयोग प्राप्त भैरहेको बताउंदै प्रधान सेनापतिले बढ्दो महंगी र आधुनिकीकरणसँगै बढ्दै गएका नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सकलदर्जाहरुका आकांक्षा, आवश्यकता र आर्थिक दायित्वलाई मध्यनजर गर्दै कल्याणकारी कोषमार्फत कार्यान्वयनमा ल्याईएका नयाँ पहलकदमीहरुका बारेमा जानकारी गराउनु भयो । सोही क्रममा उहाँले सम्पूर्ण हिताधिकारीहरुलाई स्वदेशमै बसेर परिश्रम गरे सफल भईने सन्देश दिनुभयो ।
३. सम्मेलनमा प्युठान जिल्ला निवासी ८९ (उनान्नब्बे) वर्षका हु. हुकुम बहादुर खत्री के.सी. (अ.प्रा.) र स्वर्गीय सिपाही रुक बहादुर थापा क्षेत्री (अ.प्रा.) को श्रीमती प्युठान जिल्ला निवासी ९२ (बयानब्बे) वर्षकी एकल महिला श्रीमती सावित्रा देवी थापा क्षेत्रीलाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट लघुउद्यमी/व्यवसायीहरु दुई जनालाई प्रशंसा-पत्र एवं पुरस्कार वितरण गरिएको थियो । सोही क्रममा ४ वा सो भन्दा बढी सन्ततिहरु नेपाली सेनामा रहेका २ (दुई) जना अभिभावकहरुलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त ११ (एघार) जनालाई व्हिल चेयर तथा बैसाखी वितरण गरिएको थियो ।
४. भू.पू. सैनिकहरुको तर्फबाट प्रादेशिक रथीबृन्द प्रतिनिधि रथी नेपाल भूषण चन्द (अ.प्रा.) तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका महासचिव प्र.से. श्यामसुन्दर घिमिरे (अ.प्रा.) ले मन्तव्य राख्नुहुंदै अवकाशप्राप्त सैनिक र आश्रित परिवारजनलाई पुर्याउँदै आएको सहयोगका लागि नेपाली सेना प्रति आभार प्रकट गर्नुभयो । बलाध्यक्ष रथी सिताराम खड्काले समापन मन्तब्य राख्नुहुंदै कल्याणकारी गतिबिधिलाई सरल, सहज र बिस्तार गर्न निरन्तर प्रयास भईरहेको कुरा बताउनु भयो ।
५. सम्मेलनमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरु, नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी गौरव तण्डुल (अ.प्रा.), घोराही उपमहानगरपालिकाका मेयर, दाङ्गका प्रमुख जिल्ला अधिकारी, विभिन्न गाउँपालिकाका अध्यक्षहरु, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल ईन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा परिवारहरुका साथै संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
६. सम्मेलनकै अवसर पारेर आज सैनिक मेडिकल टिमद्वारा सम्मेलन स्थलमा तिनदिने स्वास्थ्य शिविर आरम्भ गरि MOPD, Surgical, ENT, Dental, Ortho, Gynae, Paediatrics, Eye, Pathology, X-ray, USG, ECG, Physiotherapy, Dermatology लगायतका स्वास्थ्योपचार सेवा प्रदान गरिएको छ ।
७. यसै क्रममा मिति २०७९ चैत्र ०९ गते कास्की जिल्लाको पोखरास्थित श्री पश्चिम पृतना हे.क्वा., चैत्र १० गते तनहुँ जिल्लाको खैरेनीटारस्थित श्री नं.३ बाहिनी अड्डा, चैत्र २० गते महोत्तरी जिल्लाको बर्दिवासस्थित श्री मध्य पूर्वी पृतना हे.क्वा. र चैत्र २१ गते सिन्धुलीस्थित श्री नं. ९ बाहिनी अड्डामा भूतपूर्व सैनिक सम्मेलन संचालन गर्ने योजना रहेको छ ।