“महाशिवरात्रि तथा सेना दिवस २०६८” भव्यताका साथ सम्पत्र

१. आज मिति २०६८ फाल्गुन ८ गते टुँडिखेलस्थित सैनिक मञ्चमा विविध रोचक कार्यक्रमहरुका साथ “महाशिवरात्रि तथा सेना दिवस २०६८” नेपाली सेनाका परमाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवको प्रमुख आतिथ्यमा भव्यताकासाथ सु–सम्पन्न भयो । २. सेना दिवसको पावन अवसरमा प्रधानसेनापति महारथी श्री छत्रमान सिंह गुरुङ्गले श्री हनुमानध्वज गुल्म, श्री वीरभद्रजंग गुल्म, श्री रणदल गुल्म, श्री श्रीदल गुल्म श्री रामबाण गुल्म, श्री इन्द्रदल गुल्म, श्री शत्रुमर्दन गुल्म, श्री समरसुर गुल्म, श्री देवीबक्स गुल्म र श्री त्रिपुरादल गुल्मलाई निशान प्रदान गर्नुभयो । निशान प्रदानको कार्यक्रम पश्चात श्री सैनिक हवाई महानिर्देशनालयद्धारा हेलिकोप्टरबाट व्यानर प्रदर्शन, निशान प्राप्त गर्ने गणहरुबाट ईज्जत अर्पण कवाज प्रदर्शन, विभिन्न गण तथा गुल्महरु, महिला सैनिक, संयुक्त राष्ट्रसंघमा शान्ति स्थापनार्थ सहभागी हुने फौज, राष्ट्रिय सेवादल, त्रिभुवन आर्मी क्लबका खेलाडीहरु तथा नेपाल क्याभलरी ट्रुप्स (बग्गी-घोडा) बाट मार्चपास प्रस्तुत गरिएको थियो । ३. मार्चपासको प्रस्तुतीकरण पश्चात सवारी साधनहरुबाट विशेष फौजको प्रदर्शन, फेरेटकार, ए.पि.सि.,एम.पि.भि.तथा विभिन्न हतियारहरुको प्रदर्शन, इन्जिनीयरिङ्ग, सिग्नल तथा विकास निर्माणसम्बन्धी उपकरणहरुको प्रदर्शन, राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु आरक्ष र वातावरण संरक्षण सम्बन्धी प्रदर्शन एवं अन्य विभिन्न सवारी साधनहरुको प्रदर्शन गरिएको थियो र राईफल तथा तोपबाट बढाईँ गरी महाशिवरात्रि बढाईँ सम्पन्न भयो । ४. उक्त बढार्इँको कार्यक्रम पश्चात सुट टु किल, खुकुरी ड्रिल, ते–क्वाण्दो पि.टी.र जिम्नास्टिक प्रदर्शन, डग शो, रेड र रेस्क्युको कारवाही, फ्रि–फल जम्प, पाहुना खेल, सैनिक व्याण्डद्वारा सांगीतिक कार्यक्रम र अन्त्यमा हवाई फर्मेशनको प्रदर्शन गरिएको थियो । ५. कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिज्यूले नेपाली सेनाको वार्षिक प्रकाशन “सिपाही” बार्षिक पत्रिकाको विमोचन गर्नु भएको थियो । साथै विदेशी पाहुनाको खेलमा प्रथम हुनुहुने पकिस्तानी सेनाका सेनानी मोहम्मद ओबेद खानको जोडी र स्वदेशी पाहुनाहरुको खेलमा प्रथम हुनुहुने प्रा.डा.रमेश राज कुँवर एवं फ्रि–फल जम्पतर्फ प्रथम हुने सह-सेनानी टेक बहादुर कार्की र द्धितिय हुने सुबेदार धिर बहादुर बिष्टलाई पुरस्कार समेत प्रदान गर्नुभयो । ६. प्रधानसेनापति महारथी श्री छत्रमान सिंह गुरुङ्गले “प्रधानसेनापति ट्रफी २०६८” मा प्रथम हुन सफल श्री मध्य पृतना हे.क्वा.लाई “प्रधानसेनापति ट्रफि” का साथै नगद पुरस्कार र द्धितिय हुने विशेष फौज तथा तृतिय हुने श्री पूर्वी पृतना हे.क्वा.लाई पुरस्कार प्रदान गर्नु भएको थियो । साथै “प्रकृति संरक्षण ट्रफि” प्राप्त गर्ने श्री काली बहादुर गण र श्री समरसुर गुल्मलाईसमेत प्रधानसेनापतिले “प्रकृति संरक्षण ट्रफि” प्रदान गर्नु भएको थियो ७. सोही अवसरमा प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले मानार्थ उप–सेनानीमा पदोन्नति हुनु भएका ४९ जनालाई दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । ८. कार्यक्रममा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, संवैधानिक अंगका प्रमुखहरु, माननीय मन्त्रीहरु, नेपाली सेनाका अवकाश प्राप्त पदाधिकारीहरु, विभिन्न विदेशी दूतावासका सैनिक सहचारीहरु, सशस्त्र प्रहरी र नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरु, सञ्चारकर्मी, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु, परिवारजन तथा सर्वसाधारणहरुको समेत ठूलो उपस्थिति रहेको थियो । ९. साथै “महाशिवरात्रि तथा सेना दिवस २०६८” को अवसरमा सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, माननीय गृह तथा रक्षामन्त्री, माननीय रक्षा राज्यमन्त्री तथा श्री प्रधानसेनापतिले दिनु भएको शुभकामना सन्देशहरु यसै विज्ञप्तीसाथ संलग्न गरिएको छ ।