पृतनापति छलफल कार्यक्रम समापन

१. विगत बर्षहरुमा झैं सेना दिवसको सेरोफेरोमा मिति २०६८ फाल्गुन ११ गते शुरु भएको दुई दिने पृतनापति छलफल कार्यक्रम आज मिति २०६८ फाल्गुन १२ गते अपरान्ह जंगी अड्डामा प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले समापन गर्नु भयो । २. बैठकको शुरुवातमा व्यवस्था तथा युद्धकार्य महानिर्देशकले स्वागत मन्तब्य दिनु हुंदै मिति २०६८ माघ २९ गते सम्माननीय प्रधानमन्त्रीलाई बुझाइएको लडाकु समायोजन प्रारम्भिक योजना बारे संक्षिप्त ब्रिफिङ्ग गर्नु भएको थियो । ३. बैठकमा पृतनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको बस्तुस्थिती तथा चुनौतीहरु र भईरहेका गतिविधीहरु तथा दैनिक कार्य संचालनमा देखिएका कठिनाईहरुबारे जानकारी दिनु भएको थियो । सहभागी बिभागिय प्रमुख तथा महानिर्देशकहरुबाट कार्य संचालनमा देखा परेका कठिनाईहरुलाई सहज तुल्याउन जंगी अड्डाको तर्फबाट भईरहेका प्रयासहरुबारे अवगत गराईएको थियो । ४. आज मिति २०६८ फाल्गुन १२ गते छलफलको सिलसिलामा माओवादी लडाकुहरुको समायोजन सम्बन्धमा नेपाली सेनाले सात बुंदे सहमतिको परिधि भित्र रही सैनिक व्यवसायिकतामा प्रतिकुल असर नपर्ने गरी व्यक्तिगत हैसियतमा सेनाको स्थापित मापदण्ड बमोजिम दर्जा निर्धारण गर्नुपर्ने र वहालमा रहेका अधिकृत लगायत अन्यदर्जाको बृत्ति विकासमा असर नपर्ने गरी समायोजन गर्नुपर्नेमा सहभागीहरु सबैले सहमती जनाउनु भएको थियो । ५. समापनको अवसरमा प्रधानसेनापति महारथी श्री गुरुङ्गले समापन मन्तब्य दिनुहुँदै लडाकु समायोजन राजनैतिक समस्या भएतापनि अन्तरिम संविधान २०६३ र विगतमा भएका विभिन्न सम्झौताहरु र सात बुंदे सम्झौताले निर्देशित गरे बमोजिम शान्ति प्रक्रियालाई सकरात्मक ढंगले टुङ्गोमा पु¥याउन नेपाली सेनाले सैनिक मर्यादा मुल्य र मान्यतालाई अक्षुण राख्दै ठोस योगदान दिनु पर्नेमा जोड दिनु भएको थियो । ६. छलफल कार्यक्रमको शुभारम्भमा रक्षा सचिव श्री माधव रेग्मीको उपस्थिति थियो भने दुवै दिन प्रधानसेनापति, बलाध्यक्ष, बलाधिकृत, पि.एस.ओज.रथीबृन्दहरु, पृतनापतिहरु, निर्देशकहरु लगायत अन्य अधिकृतहरुको सहभागिता रहेको थियो ।