सि.सं.१८ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न

१. आज मिति २०६८ चैत्र ०६ गते प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको प्रमुख आतिथ्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित एक कार्यक्रमका बीच सि.सं.१८ कमाण्ड तथा स्टाफ कलेज तालिमको दीक्षान्त समारोह सम्पन्न भयो । २. कमाण्ड तथा स्टाफ कलेज तालिममा नेपाली सेनाका सेनानीहरु २७, शसस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक १ र मित्रराष्ट्र बंगलादेश, भारत, मलेशिया, पाकिस्तान, श्रीलंका, अमेरिकाबाट १/१ तथा चीनबाट २ जना गरी जम्मा विदेशी शिक्षार्थीहरु ८ जना समेत कुल शिक्षार्थी ३६ जना अधिकृतहरु समावेश भई दीक्षित हुनु भएको छ । ३. यस तालिमको Master in Strategic Studies (MSS) Programme मा ३४ जना शिक्षार्थीहरु उत्तिर्ण हुनु भएको छ । तालिम तथा MSS Programme दुबैतर्फ नेपाली सेनाका सेनानी सुरज गुरुङ्ग प्रथम हुनु भएको छ । यसै सिलसिलामा MSS को अध्ययनमा आवश्यक पर्ने Thesis work अर्थात Commandant's paper तर्फ "SYRIA: FAILING STATE OR EMERGING DEMOCRACY" विषयमा मित्रराष्ट्र भारतका सेनानी कुमार विलेन्द्र प्रथम हुनु भएको छ । ४. उक्त दीक्षान्त समारोहमा प्रधानसेनापति महारथी श्री गुरुङ्गले कमाण्ड तथा स्टाफ तालिममा सर्वप्रथम हुनु हुने नेपाली सेनाका सेनानी सुरज गुरुङ्गलाई "PSC" (Pass Staff College) प्रमाण–पत्र तथा “उत्कृष्ट शिक्षार्थी पुरस्कार” (Best student award) प्रदान गर्नु हुँदै दीक्षित हुनु भएका ३६ जना शिक्षार्थी अधिकृतहरुलाई "PSC" प्रमाण पत्र वितरण गर्नु भएको थियो । यसैगरी त्रिभूवन विश्व बिद्यालयका उपकुलपति प्राध्यापक डा.श्री हिरा बहादुर महर्जनले MSS Programme तर्फ सर्वप्रथम हुनु हुने शिक्षार्थी सहित ३४ जना उत्तिर्ण स्वदेशी तथा विदेशी शिक्षार्थी अधिकृतहरुलाई प्रमाण–पत्र वितरण गर्नु भएको थियो । कलेजका शिक्षाधिकृत उपरथी श्री पवन बहादुर पाण्डेले शोधपत्रमा प्रथम स्थान हासिल गर्न सफल मित्रराष्ट्र भारतका सेनानी कुमार विलेन्द्रलाई प्रमाण पत्र तथा पुरस्कार प्रदान गर्नु भएको थियो । ५. प्रधानसेनापति महारथी श्री गुरुङ्गले समारोहलाई सम्बोधन गर्ने क्रममा उक्त तालिम सफलतापूर्वक सम्पन्न गरेका सम्पूर्ण शिक्षार्थी अधिकृतहरुलाई बधाई दिनुहुँदै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा तालिमलाई सहयोग पु¥याउनु हुने महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । उहाँले सम्बोधनको क्रममा “हालको कठिन सुरक्षा चुनौतीहरुका कारण मध्यम तहका तथा युवक अधिकृतहरुमा उच्चस्तरको मानसिक, शारीरिक तथा अवस्थाको विश्लेषण समिति उचित मूल्याङ्कन गर्ने क्षमता हुन अति आवश्यक देखिएको बताउनु हुँदै अधिकृतहरुमा सहि विश्लेषण गर्ने क्षमता, युद्धको आधुनिकीकरण साथै संसारमा घटिरहेका घटनाहरु तथा अवस्थाको बारेमा सचेत रहन आवश्यक रहेको” बताउनु भयो । ६. कलेजका शिक्षाधिकृत उपरथी श्री पवन बहादुर पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै कलेजको गतिविधिहरुबारे संक्षिप्त जानकारी प्रस्तुत गर्नु भएको थियो । ७. प्रथम, दोश्रो, तेस्रो चरण ११/११ हप्ता र चौथो चरणलाई १२ हप्ता गरी जम्मा ४५ हप्तासम्म संचालन भएको यस तालिममा Professional Studies, Developmental Studies र Research work विषय समावेश गरिएको थियो भने श्री त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त भई MSS समेत अध्यापन गराईएको थियो । ८. उक्त कार्यक्रममा त्रिभूवन विश्वविद्यालयका उपकुलपति, वरिष्ठ प्राध्यापकहरु, विदेशी महामहीम राजदुतहरु, विदेशी सैनिक सहचारीहरु, नेपाली सेनाका अवकाश प्राप्त तथा सेवारत रथीबृन्दहरु, अन्य सुरक्षा निकायका उच्च पदस्थ अधिकृतहरुका साथै शिक्षार्थी अधिकृतका परिवारजनहरुको समेत उपस्थिति रहेको थियो ।