नेपाली सैनिक प्रतिष्ठानमा प्रथम पटक विदेशी “अधिकृत क्याडेटहरु” सहभागी

१. मिति २०६८ चैत्र १३ गतेबाट खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा पहिलो पटक विदेशी शिक्षार्थीहरु समेत सहभागी गराई “सि.सं.५२ अधिकृत क्याडेट” तालिम सुभारम्भ भएको छ । ५० वर्षको लामो ईतिहास बोकेको नेपाली सैनिक प्रतिष्ठानमा पहिलो पटक विदेशी शिक्षार्थीहरु सहभागी गरार्ई तालिम सुभारम्भ गरेर नेपाली सेनाले इतिहास रच्न सफल भएको छ । २. तालिममा मित्रराष्ट्र केन्याका Cyrus Waweru Ngigi, नाइजेरियाका Enekebumosor Matthew Wenebai, मंगोलियाकाNyambayar Byambaa तथा मालदिभ्सका Namil Abdul Gafoor सहित नेपाली सेनाका २४९ गरी जम्मा २५३ जना अधिकृत क्याडेटहरु सम्मिलित रहेका छन् । ३. तालिमको प्रथम प्रवचन बलाधिकृत रथी श्री नेपाल भूषण चन्दले गर्नुभएको थियो । उहाँले सहभागी अधिकृत क्याडेटहरुलाई क्याडेट छनौट परिक्षामा छनौट भएकोमा बधाई ज्ञापन गर्नु भएको थियो । साथै रथी श्री चन्दले तालिमलाई सेनासम्बन्धी आधारभूत ज्ञानमा दक्षता, पेशागत ज्ञानमा दक्षता, नेतृत्वकलासम्बन्धी गुणको विकास, अधिकृत सुहाउँदो आचरण अभिबृद्धि र शारीरिक सहिष्णुता उच्चस्तरको राख्ने अवसरको रुपमा लिन निर्देशन दिनुहुँदै तालिम सफलतापूर्वक सम्पन्न गर्न शुभकामना समेत दिनु भएको थियो । कार्यक्रममा शिक्षाधिकृत सहायक रथी श्री बिनोज बस्न्यातले स्वागत मन्तव्य दिनु भएको थियो । ४. वि.सं.२०१८ सालमा तत्कालीन श्री शाही नेपाली सैनिक शिक्षालय स्थापना भएपछि अधिकृत क्याडेट र अन्य तालिमहरु समेत उक्त शिक्षालयमै सञ्चालन भइरहेको थियो । नेपाली सेनालाई आधुनिकीकरण गर्ने सिलसिलामा अधिकृत क्याडेटहरुलाई तालिम सञ्चालन गर्न छुट्टै प्रतिष्ठानको आवश्यकता महसुस गरी वि.सं.२०४३ पौष १४ गते श्री नेपाली सैनिक प्रतिष्ठानको स्थापना गरी तालिम सञ्चालन गरिदै आएको छ । हालसम्म सो प्रतिष्ठानबाट ३ हजार ५ सय ७६ जना अधिकृत क्याडेटहरुलाई तालिम प्रदान गरी अधिकृत तहमा नियुक्त गरी देशको विभिन्न कार्यक्षेत्रहरुमा तैनाथ गराइसकिएको छ । प्रतिष्ठानको पहिलो शिक्षाधिकृत तत्कालीन महासेनानी श्री प्यारजंग थापा हुनुहुन्थ्यो भने वर्तमान शिक्षाधिकृत सहायक रथी श्री बिनोज बस्न्यात १५ औं शिक्षाधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।