प्रधानसेनापति महारथी श्री गुरुङ्गद्वारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

१. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले आज मिति २०६९ बैशाख ०६ गते भक्तपुर खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा तालिम सफलतापूर्वक सम्पन्न गर्नु भएका अधिकृत क्याडेटहरुलाई सहायक सेनानी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । २. प्रधानसेनापतिबाट सि.सं. ४१ पदिक तथा हुद्दा अधिकृत क्याडेट आधार तालिममा सर्वप्रथम हुने हुद्दा क्याडेट भिम बहादुर भुजेललाई गौरवको प्रतिक Sword of Honour प्रदान गर्नुभयो । ९ महिना अवधिको उक्त तालिममा १४ जना पदिक क्याडेट तथा ३४ हुद्दा क्याडेट गरी जम्मा ४८ जना अधिकृत क्याडेटहरु सम्मिलित थिए । ३. सो अवसरमा प्रधानसेनापति महारथी श्री गुरुङ्गद्वारा आयुक्त पद प्रदान कवाजमा सम्मिलित सम्पूर्ण अधिकृत क्याडेटहरुलाई तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिनु हुँदै क्याडेटहरुद्वारा प्रदर्शन गरेको फुर्तिलो कवाज निरीक्षण गर्नुभएको थियो । साथै नवआयुक्त अधिकृतहरुलाई सम्बोधन गर्नुहुँदै वहाँले नेपाली सेनाले आफ्नो स्थापनाकालदेखि नै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकताको संरक्षण तथा सम्वर्धन गर्दै सम्पूर्ण नेपाली जनताको आधारभूत हितको रक्षा गर्ने आफ्नो सर्वोपरी दायित्वप्रति सदा समर्पित रही आएको स्मरण गराउँदै तालिम अवधिमा सिकेका सैनिक रणकौशल, पेशागत ज्ञान र नेतृत्वकलालाई आन्तरिक सुरक्षा कार्य, राष्ट्रनिर्माण र विकास एवं मानवसृजित या प्राकृतिक प्रकोप व्यवस्थापनका साथै मानवअधिकार जस्ता विश्वव्यापी मूल्य र मान्यताहरुको संरक्षण, प्रयोग र परिपालन गर्ने कार्यमा उपयोग गर्नेमा आपूm विश्वस्त रहेको कुरा उल्लेख गर्नुभयो । ४. समारोहमा नेपाली सेनाका रथीवृन्द, भूतपूर्व प्रधानसेनापतिहरु, सशस्त्र प्रहरी तथा जनपद प्रहरीका उच्चपदस्थ अधिकृतहरु, रक्षा मन्त्रालयका सहसचिव, नेपालस्थित विदेशी कुटनैतिक नियोगका सैनिक सहचारीहरु, भूतपूर्व रथीवृन्दहरु, नेपाली सेनाका अधिकृत तथा अन्य दर्जाहरुका साथै नवआयुक्त अधिकृतहरुका परिवारजनहरुको उपस्थिति रहेको थियो ।