प्रधान सेनापति महारथी श्री गुरुङ्गबाट एकीकृत सैनिक तालिम केन्द्रको समुद्घाटन

१. आज मिति २०६९ बैशाख १० गते रुपन्देही जिल्लास्थित सालझण्डी गा.वि.स.मा नेपाली सेनाद्वारा नवनिर्मित “एकीकृत सैनिक तालिम केन्द्र” को प्रधान सेनापति महारथी श्री छत्रमान सिंह गुरुङ्गले एक समारोहका बिच समुद्घाटन गर्नुभयो । उक्त तालिम केन्द्रको शिल्यान्यास मिति २०६७ जेष्ठ २६ गते भएको थियो । २. नेपाल सरकारबाट “एकीकृत सैनिक तालिम केन्द्र” स्थापना गर्ने स्वीकृती प्राप्त भएपछि १० बर्षे गुरु योजना अन्तर्गत निर्माण कार्य शुरु भएको उक्त तालिम केन्द्रमा हाल प्रथम चरणमा तालिम केन्द्र मुख्यालय, पदिक÷विल्लादार तालिम शिक्षालय (JCO/NCO Training School) तथा सैन्य तालिम केन्द्र (Recruit Training Centre) को लागि आवश्यक भौतिक संरचनाहरुको निर्माण सम्पन्न भएको छ । ३. यस तालिम केन्द्रले स्थापनाले एकिकृत रुपमा तालिम संचालन गरी सरल, मितव्ययी तथा गुणस्तरीय तालिम संचालन गर्न सघाउन पुग्ने छ । यस केन्द्रले तल्लो तहको नेतृत्व (Junior Level Leadership) लाई केन्द्रविन्दू बनाई समसामयिक आन्तरिक तथा बाह्य चुनौतिहरु सामना गर्नुका साथै सक्षम फौज तयार गर्न तथा सबै दर्जाको तालिममा एकरुपता ल्याउने उद्देश्यले व्यवहारिक एवं असरदार तालिम संचालन गर्न उक्त तालिम केन्द्रको स्थापना गरिएको हो । नेपाली सेनाले उक्त तालिम केन्द्रलाई यस क्षेत्रकै उत्कृष्ट तालिम केन्द्रहरु मध्ये एक Junior Leadership School को रुपमा विकास गरी Centre of Excellence को रुपमा विकास गर्ने लक्ष्य लिएको छ । ४. करिब २५०० विगाहा क्षेत्रफलमा फैलिएको उक्त तालिम केन्द्र अन्तरगत पदिक/विल्लादार तालिम शिक्षालय (JCO/NCO Training School) नं.३ सैन्य तालिम गुल्म (Recruit Training Company), गण मद्दती हतियार तालिम शाखा (Battalion Support Weapon Training Wing), Ranger Training Wing र सिग्नल तालिम शिक्षालय शाखा (Signal Training School Wing) स्थपाना भई हालसम्म अधिकृत ४, पदिक २, अन्यदर्जा १५७ तथा सैन्य ६७८ गरी जम्मा ८८० जनाले विभिन्न तालिम प्राप्त गरिसकेका छन् भने हाल अधिकृत २०, अन्यदर्जा १२ तथा सैन्य ३४२ गरी जम्मा ३७४ जना विभिन्न तालिममा तालिमरत छन् । ५. आजै राज्य व्यवस्था समितिका सभापति माननीय श्री रामनाथ ढकालले समेत उक्त तालिम केन्द्रको अवलोकन गर्नु भई उक्त तालिम केन्द्रकोबारेमा विस्तृत जानकारीसमेत लिनु भएको थियो । ६. “संयुक्त ज्ञान विजय” आदर्श वाक्य रहेको उक्त तालिम केन्द्रले नेपाली सेनाभित्र नयाँ अभ्यासको सुरुवात गरेको छ । हाल यस केन्द्रका शिक्षाध्यक्ष म.से.श्री नरेश चन्द्र भट्ट हुनु हुन्छ । ७. उक्त समुद्घाटन समारोहमा बलाधिकृत रथी श्री नेपाल भूषण चन्द लगायत नेपाली सेनाका उच्चपदस्थ रथीबृन्द, अधिकृत तथा अन्यदर्जाहरुको समेत उपस्थिती रहेको थियो ।