प्रधान सेनापति महारथी श्री गुरुङ्गबाट नर्सिङ्ग महाविद्यालयको समुद्‍घाटन

१. आज मिति २०६९ बैशाख १५ गते महांकालस्थानमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, “नर्सिङ्ग महाविद्यालय” को प्रधान सेनापति महारथी श्री छत्रमान सिंह गुरुङ्गले एक समारोहका बिच समुद्घाटन गर्नुभयो । २. समारोहमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक प्राविधिक सहायक रथी डा.प्रकाश राज पाण्डेले महाविद्यालय निर्माण गर्न सहयोग पु¥याउने सम्पूर्ण निकायहरु, तह तप्का तथा व्यक्ति विशेषलाई धन्यबाद दिंदै नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबारे जानकारी गराउनु भएको थियो । ३. उक्त समारोहमा महाविद्यालयका प्रिन्सिपल प्राविधिक सहायक रथी डा.नर्वदा थापाले स्वागत मन्तव्य व्यक्त गर्दै नर्सिङ्ग शिक्षालाई समय र परिस्थिती अनुकुल गुणस्तर कायम गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै अगाडी बढाउने तथा पेशागत ज्ञान र शिपलाई प्रयोग गरेर मानवीय सेवामा सधै तत्पर रहने एक अनुशासित, ईमान्दार तथा योग्य नर्स तयार गर्ने महाविद्यालयको मुख्य उद्देश्य रहेको बताउनु भयो । ४. नेपाली सेनाको ईतिहासमा नै नयाँ आयामको रुपमा स्थापना भएको नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, नर्सिङ्ग महाविद्यालयबाट प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) बाट सम्बधन प्राप्त गरी मिति २०६८ मंसिर ११ गतेबाट PCL Nursing को कार्यक्रम सुरु गरेको थियो । साथै विश्य विद्यालयस चिकित्साशास्त्र अध्ययन संस्थान (TU IOM) बाट सम्बन्धन प्राप्त गरी मिति २०६८ मंसिर २७ गते बाट B.SC. Nursing तथा Post Basic Bachelor in Nursing (PBBN) का कार्यक्रमरु संचाल गर्दै आईरहेको छ । ५. वि.सं.१९८२ सालमा स्थापना भएको श्री त्रिभुवन चन्द्र मिलिटरी हस्पिटल महाँकालस्थान हाता भित्र रहेको मुख्य भवनलाई बृहतरुपमा मर्मत संभार तथा थप आवश्यक पूर्वाधारहरु समेत तयार गरी नेपाली सेना अन्तर्गत सैनिक कल्याणकारी कोषबाट यस महाविद्यालयको संचालन हुँदै आईरहेको छ । ६. यस महाविद्यालयमा सुविधा सम्पन्न कक्षा कोठा, लाईब्रेरी, होस्टेल र प्रयोगशालाहरु रहेका छन् । तीनवटै नर्सिङ्ग कार्यक्रमका विद्यार्थीहरुलाई Clinical अभ्यासको लागि ५१८ बेड क्षमता रहेको श्री वीरेन्द्र अस्पतालमा र सामुदायिक स्वस्थ्य अभ्यासको लागि रामकोटस्थित Primary Health Care Center अन्तर्गतका वार्डहरुमा गराउदै आईरहेको छ । ७. हाल यस महाविद्यालयमा सैनिक तर्फका ३३ र गैरसैनिक तर्फका ६९ जना गरी जम्मा १०२ जना विद्यार्थीहरु विभिन्न जिल्लाहरु लगायत दुर्गम जिल्लाहरुबाट समेत अध्ययनरत रहेका छन् । यस महाविद्यालयमा अध्ययन गर्नको लागि PCL Nursing (३ वर्ष) तर्फ जम्मा रु.३,२०,०००/–, B.SC. Nursing (४ वर्ष) तर्फ रु.७,६०,०००/– र PBBN (२ वर्ष) तर्फ रु.३,३०,०००/– शुल्क निर्धारण गरिएको छ । साथै प्रत्येक कार्यक्रमको लागि रु.१०,०००/– (पछि फिर्ता हुने गरी) धरौटी बापतको रकम तोकिएको छ । ८. समुद्‍घाटन कार्यक्रम पश्चात प्रमुख अतिथिज्यू लगायत अन्य महानुभावहरुद्वारा नर्सिङ्ग महाविद्यालयको निरीक्षण गरिएको थियो । समारोहमा त्रिभुवन विश्व विद्यालयका उपकुलपति, रक्षा सचिव, शिक्षा सचिव, स्वास्थ्य तथा जनसंख्या सचिव, नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु, नेपाली सेनाका रथीबृन्दहरु, चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन, विदेशी सैनिक सहचारीहरु, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका शिक्षक तथा कर्मचारीहरु लगायत नेपाली सेनाका अधिकृतहरुको उपस्थिती रहेको थियो ।