सम्माननीय राष्ट्रपतिद्वारा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान

१. सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष General Bikram Singh लाई आज मिति २०६९ आषाढ २७ गते राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक विशेष समारोहका वीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभयो । समारोहमा सम्माननीय राष्ट्रपतिज्यूले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको महारथीको दज्र्यानी चिन्ह, खड्ग तथा प्रमाण–पत्र प्रदान गर्नु भएको थियो ।

 २. सन् १९५० मा प्रथम पटक नेपालको औपचारिक भ्रमण गर्ने तत्कालीन भारतीय सेनाका Commander-in-Chief, General Kodandera Madappa Cariappa को भ्रमणदेखि नै भारतीय सेनाध्यक्षहरुलाई मानार्थ महारथीको दर्जाले सम्मानित गरिँदै आएको छ । 

 ३. साथै उहांले अपरान्ह सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्रीसंग उहांकै कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नु भएको थियो । भेटघाटमा नेपालका लागि भारतीय महामहिम राजदुत तथा मुख्य सम्पर्क अधिकृतको समेत उपस्थित रहेको थियो ।

 ४. भारतीय सेनाध्यक्ष जनरल सिहंले आजै बिहान भक्तपुर, खरिपाटीस्थित सैनिक प्रतिष्ठानको निरिक्षण भ्रमण गर्नुको साथै तालिमरत अधिकृत क्याडेटहरुद्धारा प्रस्तुत गरिएको तालिम अभ्यासहरुको समेत अवलोकन गर्नुभएको थियो । तत्पश्चात उहांले काभ्रेपलाञ्चोक जिल्लास्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गर्नुभयो । भ्रमणको क्रममा उक्त केन्द्रका केन्द्रपतिले उहाँलाई तालिम केन्द्रमा सञ्चालन हुने विभिन्न तालिम लगायत विविध विषयहरुबारे जानकारी गराउनु भएको थियो । 

 ५. त्यसैगरी आज सांझ भारतीय सेनाध्यक्ष जनरल सिंह प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले उहांको सम्मानमा आयोजना गर्नुहुने रात्री भोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।