“नेपाली सेनाको इतिहास” पुस्तकको बिमोचन समारोह सम्पन्न

१. आज मिति २०६९ श्रावण १७ गते अपरान्ह जंगी अड्डा स्थित एक समारोहका विच प्रधान सेनापति महारथी श्री छत्रमान सिंह गुरुङ्गले नेपाली सेनाद्धारा प्रकाशित “नेपाली सेनाको इतिहास” नामक पुस्तकको बिमोचन गर्नु भयो । २. समारोहमा सम्माननिय राष्ट्रपतिद्धारा प्रेशित गरिएको शुभेच्छा पत्र पनि बाचन गरिएको थियो । नेपाली सेनाले आफ्नो गौरबपुर्ण इतिहासलाई लिपिबद्ध गर्ने क्रममा विगतमा प्रकाशित सैनिक इतिहासमा नसमेटिएका पक्षहरु र नयां घटनाहरु समेतलाई अद्यावधिक गरि उक्त इतिहास प्रकाशित गरिएको हो । ६३३ पेजको उक्त इतिहासको पुस्तकमा नेपाली सेनाको प्रारम्भिक स्वरुप, नेपाली सेनाको विकाश र विस्तार, नेपाली सेनाले लडेका युद्धहरु, अन्तराष्ट्रिय जगतमा नेपाली सेना, नेपाली सेनाको पुनः निर्माण र आधुनिकिकरण, सैनिक नीति र नियमहरु, राष्ट्रिय विकाश निर्माण र जनहित कार्यमा नेपाली सेना, प्रकिृति तथा बन्यजन्तु संरक्षणमा नेपाली सेना, संयुक्त राष्ट्र संघिय शान्ति स्थापनामा नेपाली सेना, नेपाली सैनिक कल्याणकारी योजना, नेपाली सेनाको बर्तमान संगठनिक स्वरुप र नेपाली सेनामा भएका हाल महत्वपुर्ण कार्यहरु समेत १२ अध्याय छन् । ३. प्रधान सेनापति महारथी श्री गुरुङ्गले समारोहलाई संबोधन गर्नु हुंदै गौरबमय इतिहास र परम्परा रहेको नेपाली सेनाले नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि उदाहरणीय कीर्तिमानहरु कायम गर्दै आफ्ना वीरगाथाहरु इतिहासका स्वर्णिम पानाहरुमा अंकित गर्दै आएको कुरा ऐतिहासिक तथ्यहरुबाट पुष्ट भईसको कुरा बताउनु भयो । विगत देखि वर्तमान सम्मको नेपाली सेनाको समग्र भुमिकाको विश्लेषण नै बास्तबमा नेपाली सेनाको इतिहास भएको कुरा बताउनु भयो । साथै उहांले नेपाली सेनाको इतिहासलाई केन्द्रविन्दुमा राखि तयार गरिएको प्रस्तुत “नेपाली सेनाको इतिहास” खोजमुलक कृतिले नेपाली सेनाबारे हाल सम्म नलेखिएका कतिपय नयां पक्ष बारेको जानकारी प्रमाणिक रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको र यस ग्रन्थले नेपाली सेनाबारे समस्त जनमानसमा महत्वपुर्ण जानकारीहरु दिनेछ भन्ने कुरामा विश्वस्त रहेको कुरा समेत बताउनु भयो । ४. समारोहमा प्रधान सेनापति महारथी श्री छत्रमान सिंह गुरुङ्गले “नेपाली सेनाको इतिहास” लेखन तथा प्रकाशन गर्न महत्वपुर्ण योगदान पु¥याउनु हुने सह प्राध्यापक कमलराज सिंह राठौर, प्रा.डा.त्रिरत्न मानन्धर, प्रा.डा. तिर्थप्रसाद मिश्र, प्रा. दिनेशराज पन्त र सह(प्रा.डा. भवेश्वर पंगेनी लगायत नेपाली सेनाको तर्फबाट सहयोग पु¥याउनेहरुलाई समेत हार्दिक धन्यबाद दिनु भएको थियो । उक्त प्रकाशित पुस्तकको बारेमा समिक्षात्मक मन्तब्य इतिहासबिद् डा. घनश्याम भट्टराईले दिनु भएको थियो । ६. साथै उक्त समारोहमा कुलपति तथा उपकुलपतिहरु, विभिन्न मन्त्रालयका सचिवहरु, सम्माननिय राष्ट्रपतिका सल्लाहकारहरु, अवकाश प्राप्त महारथीहरु, रथिबृन्द तथा बहालवाला रथीबृन्दहरु, नेपाल स्थित विदेशी सैनिक सहचारीहरु, प्राध्यापकहरु, इतिहासविद्हरु, सैनिक श्रीमती संघका पदाधिकारीहरु र नेपाली सेनाका सकल दर्जाहरुको समेत उपस्थिती रहेको थियो ।