नेपाली सेनाद्धारा देशका विभिन्न स्थानहरुमा उद्धार कार्य जारी

१. अविरल बर्षाको कारण देशका विभिन्न स्थानहरुमा गएको बाढिपहिरोको कारण विचल्लीमा परेका व्यक्तिहरुलाई नेपाली सेनाले विभिन्न स्थानहरुमा उद्धार गर्ने साथै पहिरोको कारण बाटो अबरुद्ध भएको ठाउँहरुमा पहिरो हटाई बाटो खुलाउने कार्य, हराईरहेका व्यक्तिहरुको खोजी कार्य र आबश्यकता अनुसार हेलिकोप्टर समेतबाट उद्धार तथा उपचारको लागि परिचालन भईरहेको छ । २. आज मिति २०६९ श्रावण १९ गते बर्षाको कारण डुवानमा परेका दाङ्ग जिल्लाका सिस्नीया र पिपरिया गा.वि.स.मा पानीको बहाव बढेको कारण अलपत्र परेका व्यक्तिहरुलाई स्थानीय व्यक्तिहरुको सहयोगमा उद्धार गरीएको र उद्धार गर्न नसकेको स्थानको लागि नेपाली सेनाको एवुलेट हेलिकोप्टर काठमाडौबाट त्यसतर्फ पठाइसकिएको छ । ३. त्यसैगरी मनाङ्ग जिल्लाको ताल गा.वि.स.को खहरे खोलामा आएको बाढीको कारण जोखीममा परेका १५० स्थानीयबासीहरुलाई नेपाली सेनाको फौजले उद्धार गरी सुरक्षा बेशमा लगेर राखेको छ । सो मध्य सिकिस्त घाइते भएको एक जनालाई थप उपचारको लागि काठमाडौ ल्याउनको लागि नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ पठाइसकिएको छ ।