शान्ति स्थापनार्थ हाईटी खट्टिई जाने फौजको निरीक्षण तथा सम्बोधन

१. आज मिति २०६९ असोज २३ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ MINUSTAH MISSION, HAITI मा तैनाथ हुन जाने श्री खड्गदल गण (शा.से.) १२ औं डफ्फाद्वारा पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरेको Pre-Deployment तालिमको निरीक्षण गर्नुभयो । २. उक्त अवसरमा प्रधानसेनापति महारथी श्री राणाले नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवद्वारा दिईएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । ३. सोही अवसरमा प्रधानसेनापति महारथी श्री राणाले विगत ५४ वर्ष भन्दा बढी समयदेखि शान्ति स्थापनामा योगदान पुर्‍याउंदै आएको नेपाली सेनाले हालसम्म ९२,००० सैनिकहरू ३९ वटा मिशनहरूमा पठाई सकेको र हाल १२ वटा विभिन्न मिशनहरूमा ३८०४ शान्ति सैनिकहरू कार्यरत रहेको साथै नेपाली सेना स्वदेशमा मात्र नभई विदेशमा समेत आफ्नो पेशागत दक्षताको लागि परिचित छ भन्ने कुरा, शान्ति सेनामा यसबाट भएका योगदानहरूबाट प्रमाणित भएको स्मरण गराउंदै विश्वका विभिन्न स्थानहरूमा शान्ति कायम गर्ने सत् प्रयासमा आफ्नो प्राण अर्पण गर्ने ५८ जना नेपाली सेनाका बहादुर सैनिकहरू प्रति भावपूर्ण श्रद्धान्जली अपर्ण गर्नु भएको थियो । ४. प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले देशको नै प्रतिनिधित्व गरी विदेशी भूमिमा आफ्नो पेशागत दक्षता, अनुशासन कर्तव्य परायणता प्रदर्शन गर्ने यस चुनौतीपुर्ण जिम्मेवारीलाई सैनिक मूल्य, मान्यता तथा आचरणहरूको ख्याल राखी अन्तर्राष्ट्रिय समुदायको अगाडी उत्कृष्ट नमूनाको रूपमा तपाईंहरूले प्रशंसनीय ढंगले पूरा गरी नेपाल र नेपाली सेनाको शिर अझ उच्च बनाउनु हुनेछ भन्नेमा आफु पूर्ण विश्वस्त रहेको बताउनु हुंदै पाएको जिम्मेवारीमा सफलता मिलोस् भनि मंगलमय शुभकामना दिनु भएको थियो । ५. उक्त कार्यक्रममा रक्षा सह(सचिव देवेन्द्र प्रसाद सिटौला लगायत नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । श्री खड्गदल गण (शा.से.) १२ औं डफ्फाको नेतृत्व प्रमुख सेनानी श्री टंक भट्टले गर्नु भएको छ ।